निर्वाचनको सम्पूर्ण तयारी पूरा, २३ हजार ११२ मतदान केन्द्रमा पुगे कर्मचारी

लोकपथ
70
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरु पूरा गरेको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार केन्द्रिय तहमा हुनुपर्ने सम्पूर्ण तयारीहरु सम्पन्न भइसकेका छन् ।

आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिसकेको बताए । पछिल्लो जानकारीअनुसार निर्वाचन आयोगका कर्मचारी तथा सुरक्षाकर्मीहरु देशभरका २३ हजार १ सय १२ वटै मतदान केन्द्रमा पुगिसकेका छन् । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतहरुले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक तयारीहरु गरिरहेका छन् । स्थानीय स्तरमा राजनीतिक दलहरु र उम्मेदवारहरुसँग सर्वदलीय बैठक बसेर मतदानको विषयमा साझा बुझाइ तयार गर्ने काम भइरहेको बताए ।

उनले भने, ‘निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरु पूरा गरेको छ । केन्द्रीय तहमा हुनुपर्ने तयारी हामीले सबै सम्पन्न गरिसकेका छौँ । हाम्रो निर्वाचन आयोग माघ २ गतेदेखि सबै निर्वाचन क्षेत्रमा पुगेको थियो । त्यहाँ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत ज्युहरुको कार्यालय स्थापना भएपछि आयोग सबै निर्वाचन क्षेत्रमा पुगेको थियो र हिजोदेखि निर्वाचन आयोग २३ हजार ११२ मतदान केन्द्रसम्म पुगेको छ । त्यहाँ सबै मतदान अधिकृतहरु मतदान केन्द्रमा पुगिसक्नुभएको छ । उहाँले मतदान केन्द्रको सूचनादेखि लिएर त्यहाँ गर्नुपर्ने प्रशासनिक तयारीहरु गरिरहनु भएको छ । सम्भवतः आज सबै मतदान केन्द्रहरुमा यो राजनीतिक दलहरुसँग, स्थानीय राजनीतिक दलहरु, उम्मेदवारहरुसँग सर्वदलीय बैठक भएर मतदानको विषयमा उहाँहरुसँग छलफल भएर साझा अन्डरस्ट्यान्डिङहरु तयार भइसकेको छ । भोलिसम्म उहाँहरुले मतदान केन्द्रको बुथ निर्माण गरिसकेपछि पर्सि बिहान ७ बजेदेखि बेलुकी ५ बजे सम्म मतदान सम्पन्न हुनेछ । निर्वाचन आयोगले अहिलेसम्म सम्पादन गरेका, आजका मितिमा सम्पादन गरिरहेका र भोलि पर्सि पनि सम्पादन गर्ने कामहरु के हुन् भन्दा यो मतदानको सम्बन्धमा जिल्ला तहलाई अथवा निर्वाचन क्षेत्रगत रुपमा र मतदान केन्द्र तहमा आएका इस्युहरुलाई सम्बोधन गर्ने गरी आवश्यक सहजीकरण निर्वाचन आयोगले गरिरहेको छ।’

मतदान केन्द्रको बुथ निर्माण कार्य सम्पन्न भइसकेपछि तोकिएको समयमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ ।

मतदानको समयमा जिल्ला तह, निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा आउन सक्ने कुनैपनि समस्यालाई तत्काल सम्बोधन गर्न आयोगले आवश्यक सहजीकरण गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

सम्पूर्ण जनशक्ति र सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेको र कार्यविभाजन समेत भइसकेकोले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको उहाँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?