काठमाडौं । नेपाल पर्यटन बोर्डले चुनावका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने भएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी विमानस्थलदेखि काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म सटल बस सेवा उपलब्ध गराइने भएको हो ।
उक्त सेवा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
निर्वाचनका दिन सवारी सञ्चालनमा सम्भावित असहजतालाई मध्यनजर गर्दै पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउन सेवा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । सटल बस सेवा तोकिएका मार्गमार्फत नियमित रूपमा आवतजावत गर्नेछ ।
पहिलो मार्गअन्तर्गत नेपाल वायुसेवा निगम, न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, मल्ल होटल, नयाँबजार, शंकर होटल, र्याडिसन, दरबारमार्ग, याक एन्ड यति, नागपोखरी, गौशाला हुँदै द्वारिका होटलमार्फत विमानस्थलसम्म सेवा सञ्चालन हुनेछ । यस मार्गको समन्वय रामबहादुर नगरकोटीले गर्नेछन् भने बा १ प १३७८ नम्बरको जसमार्फत सेवा उपलब्ध हुनेछ ।
दोस्रो मार्ग महाराजगञ्ज चोक, नारायणथान, धुम्बाराहीस्थित रामाडा होटल, चाबहिल, बौद्धस्थित हायात रीजेन्सी, जोरपाटी हुँदै गौशाला भएर विमानस्थलसम्म सञ्चालन हुनेछ । यस मार्गका सम्पर्क व्यक्ति पवन गिरी रहेका छन् र बा १ प १३२० नम्बरको बस परिचालन गरिनेछ।
तेस्रो मार्ग कुपण्डोल, हिमालयन होटल, त्रिपुरेश्वर, कलंकी, सोल्टी, एकान्तकुना, सातदोबाटो, ग्वार्कोस्थित रोयल टुलिप, तीनकुने, नयाँ बानेश्वर हुँदै एभरेष्ट होटलमार्फत विमानस्थलसम्म सञ्चालन गरिनेछ । यस मार्गको समन्वय सुरज खड्गुले गर्नेछन् भने बा १ प १०८१ नम्बरको बस परिचालन हुने बोर्डले जनाएको छ।
बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले ट्राफिक जाम वा बन्द–हड्तालका बेला पनि विगत २७ वर्षदेखि सटल सेवा सञ्चालन हुँदै आएको उल्लेख गर्दै यसपटक पनि सोही व्यवस्थालाई निरन्तरता दिइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया