दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?

लोकपथ
77
Shares

काठमाडौं । दैनिक करिब ५ हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग हुने गरेको छ । यातायात व्यवस्था विभागका अनुसार यसअघि आवेदन दिइसकेका करिब २५ लाख सेवाग्राहीलाई अझै लाइसेन्स वितरण गर्न बाँकी रहेको छ ।

विभागका महानिर्देशक राजीव पोखरेलले अत्यावश्यक परेकालाई प्राथमिकतामा राखेर तत्काल लाइसेन्स उपलब्ध गराउने व्यवस्था गरिएको बताए । उनका अनुसार दैनिक करिब ६ सय जनाले ‘इमरजेन्सी’ भन्दै लाइसेन्सका लागि आउने गरेका छन् र सोही अनुपातमा वितरण भइरहेको छ ।

अनलाइन वा भौतिक रूपमा आवेदन दिएपछि सम्बन्धित विवरण सिक्युरिटी प्रिन्टिङ प्रेसमा पठाइन्छ । त्यहाँबाट ५ देखि ७ दिनभित्र लाइसेन्स छपाइ भएर आउने र त्यसपछि वितरण गरिने व्यवस्था रहेको पोखरेलले जानकारी दिए ।

लाइसेन्स अभावको समस्या समाधानका लागि विभागले डिजिटल माध्यमलाई प्राथमिकता दिएको छ । नागरिक एपमार्फत डिजिटल लाइसेन्स देखाउन सकिने व्यवस्था गरिएको छ र ट्राफिक प्रहरीले त्यसलाई मान्यता दिने गरेको छ । ट्राफिक नियम उल्लंघन भएमा सोही डिजिटल लाइसेन्सका आधारमा चिट काट्न तथा जरिवाना अनलाइनमार्फत तिर्न सकिने व्यवस्था छ । यसले लाइसेन्स वा रसिद बोकेर हिँड्नुपर्ने बाध्यता हटाएको विभागको दाबी छ ।

‘जेनजी आन्दोलन’ का बेला संसद भवन नजिक रहेको विभागमा आगलागी हुँदा करिब २ लाख ५० हजार लाइसेन्स जलेर नष्ट भएका थिए । लाइसेन्स प्रिन्ट गर्ने मेसिनसमेत जलेपछि छपाइ कार्य प्रभावित भएको थियो । त्यसपछि बनेपासँग सम्झौता गरेर छपाइ प्रक्रिया पुनः सुरु गरिएको हो ।

आन्दोलनका क्रममा ठुलो क्षति भए पनि कर्मचारीको प्रयासबाट करिब ६० लाख ड्राइभिङ लाइसेन्ससम्बन्धी डेटा पुनर्जीवित (रिभाइभ) गरिएको पोखरेलले बताए । सिक्युरिटी प्रिन्टिङ प्रेसले पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ गरेर उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ ।

वैदेशिक रोजगारीमा जाने वा अन्य आपतकालीन आवश्यकता भएका व्यक्तिले निवेदन दिएपछि प्राथमिकताका आधारमा लाइसेन्स उपलब्ध गराइँदै आएको विभागले जनाएको छ । डिजिटल लाइसेन्सको प्रयोग बढेकाले अहिले लाइसेन्ससम्बन्धी समस्या पहिलेको जस्तो गम्भीर नरहेको महानिर्देशक पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?