काठमाडौं । रामेछाप नगरपालिका-२ देउरालीस्थित सिरुबारीमा निर्वाचन टोली बोकेको मिनी ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
दुर्घटनामा एक जनाको घटनास्थलमा नै र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएको टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक आज दिउँसो सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
घटनास्थलमै प्रहरी सहायक निरीक्षक आरपी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी, साँघुटार वडा कार्यालय ‘ख’ मतदान केन्द्रमा निर्वाचन अधिकृतका रूपमा खटिएका रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा निधन भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशवसिं धामीले जानकारी दिए।
दुर्घटनामा घाइते सात जनामध्ये खाँडादेवी गाउँपालिका-४ का ४७ वर्षीय सब्बरबहादुर मानन्धर, भीमबहादुर मानन्धर, रामेछाप नगरपालिका–२ की २८ वर्षीया सविना खड्का, मन्थली नगरपालिका–३ का ४७ वर्षीय केदारकुमार रोक्का, सर्लाहीको लालबन्दी नगरपालिका स्थायी ठेगाना भई हाल भीमेश्वर प्रसुन कँडेल माविका शिक्षक कृष्णप्रसाद घिमिरे तथा ठेगाना नखुलेकी २५ वर्षीया दुर्गा कार्कीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
उक्त गाडी देउराली र साँघुटारका तीन वटा मतदान केन्द्रका निर्वाचन सामग्री, सुरक्षाकर्मी र मतदान अधिकृतसहितको टोली लिएर गइरहेको थियो । मावि देउरालीको सामग्री बुझाएर सिरुबारी र हिमगंगा मावि साँघुटारका दुई मतदान केन्द्रका सामग्री लिएर जाँदै गरेको अवस्थामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजनप्रसाद तिमिल्सिनाले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया