तस्बिरमा हेर्नुहोस् वसन्तपुरको होली रौनक

लोकपथ
28
Shares

काठमाडौं । वसन्तपुर दरबार क्षेत्रको आजको वातावरण अर्कै बन्न पुग्यो ।

काठमाडौंको मुटु, जहाँ ढुङ्गाका मूर्तिहरू बोल्छन् र इतिहासले सास फेर्छ । हावामा अबिरको सुगन्ध छ र आकाश रङ्गीन बादलले ढाकिएको छ । यो केवल एउटा पर्व मात्र होइन । होली खुशी साट्ने माध्यम पनि हो ।

सैको हातमा रातो, कसैकोमा नीलो त कसैकोमा पहेँलो । यी रङ्गहरूमा कुनै भेदभाव छैन । यहाँ न कोही पराई छ, न कोही अपरिचित । जब गालाहरूमा अबिरको स्पर्श हुन्छ, तब मानिसका मनहरू पनि एकाकार हुन्छन् ।

वसन्तको यो आगमनले सुक्खा रुखहरूमा मात्र होइन, मानिसका भावनाहरूमा पनि पालुवा फेराएको छ । पिचकारीबाट निस्किएका पानीका फोहोराहरू र ती साना नानीहरूको खिलखिलाउँदो हाँसो । साँच्चै होलीमा खुशी जादु नै छ । एउटा सानो बालकले जब आफ्नो कलिलो हातले रङ्ग दल्छ, तब लाग्छ संसारका सारा खुशीहरू यही मुस्कानमा लुकेका छन् । यो पर्वले हामीलाई फेरि एकपटक बालक बन्न सिकाउँछ । सात समुन्द्र पारिबाट आएका पाहुना हुन् वा हाम्रै गल्लीका छिमेकी, आज सबै एउटै रङ्गमा रङ्गिएका छन् । ‘ह्याप्पी होली’ को एउटै गुञ्जनले भाषा र भूगोलको सीमा मेटिदिएको छ । साइकलका पाङ्ग्राहरूदेखि मन्दिरका खुड्किलाहरूसम्म, जहाँ हेर्‍यो त्यहीँ उत्साहको भेल छ । सुरक्षामा खटिएका प्रहरीदेखि रमाइलो गरिरहेका युवायुवतीसम्म, सबैको अनुहारमा एउटै चमक छ– आत्मीयताको चमक । होली केवल रङ्गहरूको पर्व मात्र होइन यो त मनभित्रको तिक्ततालाई पखालेर प्रेम र सद्भाव भर्ने अवसर हो । वसन्तपुरको यो ऐतिहासिक आँगन साक्षी छ– कि रङ्गहरूले मानिसलाई जोड्छन्, तोड्दैनन् ।

नजिकिँदो निर्वाचनलाई लक्षित गरेर निर्वाचन सरकारले ठूलो सांस्कृतिक कार्यक्रम गरेर होली नमनाउन भनेसँगै अन्य वर्षहरु जस्तो यस वर्ष भने धेरै ठाउँमा रौनक भने देखिएन । तर आत्मियता साट्नका लागि रमाइलो वातावरण भने देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?