नेपाली कांग्रेसको आकलन : प्रत्यक्षमा ६० बढी र  समानुपातिकमा ३५ सिट  

लोकपथ
385
Shares

काठमाडौं । २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षमा ६० बढी र  समानुपातिकमा ३५ सिट जित्ने आकलन गरेको छ । 

एक सय सिट कटाउने पार्टीको लक्ष्य रहेकोमा त्यो सफलतानजिक पुगेको नेपाली कांग्रेसको आन्तरिक विश्लेषण रहेको छ । 

कांग्रेस प्रवक्ता देवराज चालिसेले सय पार पु¥याउने आफूहरूको लक्ष्य सफलतानजिक पुगेको जानकारी दिँदै भने, ‘हामीले अबकी बार सय पारको नारा बनाएका छौँ, त्यो लक्ष्य पूरा हुने अवस्थाको हामी नजिक नजिक पुगेका छौं । आज (सोमबार) पार्टीका साथीहरू सम्हाल्न सकेमा लक्ष्य भेटाउन सकिने अवस्था छ ।’

उनले यसअघि पार्टीको जिम्मेवार तहमा रहेका नेताहरू प्रचार प्रसारमा ननिस्केकाले केही समस्या पार्छ कि भन्ने डर रहेको बताउँदै भने, ‘हामीलाई आन्तरिक मिलाउन गाह्रो भइरहेको छ । त्यो मिल्यो भने लक्ष्य भेटाउँछौँ ।’  

गत पुसमा गरेको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ । त्यो विवादका कारण निवर्तमान सभापति शेरबहादुर देउवा, नेताहरू पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. आरजु राणालगायत चुनावी प्रचार प्रसारमा निस्किएका छैनन् । देउवा समूहले आधिकारिकताको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ ।

हालसम्म नेपाली कांग्रेसले काठमाडौंका ३, कैलालीका २, कञ्चनपुरका २, धनुषाका ३, सर्लाहीका ३, कपिलवस्तुका ३ र एक निर्वाचन क्षेत्र भएका १० बढी जिल्लामा जित सुनिश्चित रहेको जनाएको छ । यद्यपि, ती क्षेत्र खुलाइएको छैन । 

२०७९ सालको चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ सिट जितेको थियो । त्यसबेला नेपाली कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २ सय २५ मत पाएको थियो । 

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले १६५ मध्ये ९१ सिटमा उम्मेदवारी दिएको थियो । त्यसबेला तत्कालीन माओवादी, एकीकृत समाजवादी र लोसपासँग कांग्रेसले गठबन्धन गरेर कम सिटमा उम्मेदवारी दिएको थियो । यो निर्वाचनमा भने कांग्रेसले कसैसँग तालमेल नगरी १६५ सिटमै उम्मेदवारी दिएको छ । 

कांग्रेसले देशव्यापी सर्वेक्षणका लागि २२ जना खटाएको छ भने भने अनौपचारिक रूपमा ४ सय जनामार्फत कांग्रेसले सूचना संकलन गरिरहेको छ । 

२०७९ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २५ दशमलव ७१ प्रतिशत मत पाएको थियो । कांग्रेस यसपटक मत बढ्ने निष्कर्षमा छ । कांग्रेसको आन्तरिक विश्लेषणमा समानुपातिक मत कम्तीमा ३० र बढीमा ३३ लाख पुग्ने आकलन छ । विशेष महाधिवेशनबाट शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी गत पुस ३० मा गगन थापा नेतृत्वमा आएपछि विगतको मत जोगिएर नयाँ मत थपिने अवस्था बनेको कांग्रेसको विश्लेषण छ । 

कांग्रेसले २०१५ सालमा ३७ दशमलव ०२ प्रतिशत,  २०४८ मा ३७ दशमलव ७५ प्रतिशत, २०५१ मा भएको मध्यावधि निर्वाचनमा ३३ दशमलव ३८ प्रतिशत, २०५६ मा ३७ दशमलव १७ प्रतिशत मत पाएको थियो । 

यसैगरी, २०६४ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २१ दशमलव १४ प्रतिशत, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा २५ दशमलव ५५ प्रतिशत, २०७४ मा ३२ दशमलव ७८ मत, २०७९ मा २५ दशमलव ७१ प्रतिशत मत पाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?