निर्वाचनका कर्मचारी र सुरक्षाकर्मी आजै मतदान केन्द्रमा खटिने

लोकपथ
77
Shares

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देखि  कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ । 

खटाइएका कर्मचारी र सुरक्षाकर्मी आज अपराह्नसम्म देशभरका मतदान केन्द्रमा परिचालित हुने भएका छन् ।

निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीलाई आ-आफ्नो केन्द्रमा पुग्न परिपत्र जारी गरेको जनाएको छ । यातायात सुविधा पुगेका स्थानमा आजै अपराह्नसम्म केन्द्रमा पुगेर आवश्यक तयारी थाल्न निर्देशन दिइएको छ ।

दुर्गम तथा विकट भेगका मतदान केन्द्रमा भने केही दिनअघिदेखि नै सुरक्षाकर्मी सहितको टोली पुगिसकेको छ । आइतबारसम्म तीन सयभन्दा बढी विकट केन्द्रमा कर्मचारी पुगिसकेको आयोगले जनाएको छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखिएको थियो । सहरी तथा तराई क्षेत्रका मतदान केन्द्रमा सोमबार अपराह्नसम्म कर्मचारी पुग्ने बताइएको छ।

देशभरका निर्वाचन अधिकृत कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझ्ने व्यवस्था गरिएको छ । सामग्री सिलबन्दी गरी २४ घण्टा निगरानीमा राखिनेछ।

मतदान अधिकृतहरूले केन्द्रमा पुगेर ‘चार किल्ला’ सूचना टाँस्ने, सर्वपक्षीय बैठक बोलाउने तथा निर्वाचन प्रचार बन्द भएको सूचना जारी गर्नेछन् । त्यसपछि मतदान केन्द्र तयारी, आवश्यक मुचुल्का तयार गर्ने र मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा बुझाउने काम गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?