काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुन्य समयमा कुनैपनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार संप्रेषण नगर्न आग्रह गरेका छन् ।
प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘मौन अवधि र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त आह्वान गरेका हुन् । उनकाअनुसार निर्वाचन सम्बन्धी ऐन नियममा ‘मौन अवधि’ भन्ने शब्द कतै पनि प्रयुक्त नभएकाले यसलाई ‘शुन्य समय’ वा ‘स्थिर समय’ भन्नु नै कानूनसम्मत हुन्छ । शब्दावलीको प्रयोगमा स्पष्टता हुनुपर्नेमा उनको जोड छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले १८ गते राति १२ बजेदेखि शुन्य समय शुरु हुने जनाए । उनले यो संवेदनशील समयमा कुनैपनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार संप्रेषण नगर्न र समाजलाई सही दिशामा डोर्याउन सञ्चारमाध्यमहरुलाई आग्रह गरे ।
उनले निर्वाचनमा नगद चलखेल भएको पाईए कडा कारबाही हुने चेतावनी समेत दिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा नगद चलखेल भए आगामी ६ वर्षसम्म त्यस्ता उम्मेदवारहरुले निर्वाचनको कुनैपनि प्रक्रिया भाग लिन नपाउने व्यवस्था गरिएकोतर्फ सचेत गराए । उनले नगद चलखेल गर्ने उम्मेदवार विजयी भएको घोषणा भएपनि उनीहरुको उम्मेदवारी खारेज हुने स्पष्ट पारे ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले निर्वाचन आचारसंहिताको परिपालनामा शुन्य सहनशीलताको नीति लिएकोले मौन अवधिभर निर्वाचन आचारसंहिताको पालना गराउने काममा सञ्चार माध्यामहरुले महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गरे । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिए । उनकाअनुसार मुलुकका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् । उनले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भुमिका खेलेका कारण निर्वाचनको माहोल देउरालीसम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने (निर्वाचन सम्पन्न हुने) विश्वास व्यक्त गरे । जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उनको भनाइ छ ।
उनकाअनुसार निर्वाचनको दिन सञ्चारकर्मीहरूको आवागमनलाई सहज बनाउन निर्वाचन आयोगले छुट्टै पास वितरण नगर्ने निर्णय गरेको छ । उनले सूचना विभागले जारी गरेको परिचयपत्रकै आधारमा पत्रकारहरूले देशभर आवागमन गर्न जनाए । ७९ सालको निर्वाचनमा प्रेस काउन्सिल र आयोगबीच केही तिक्तता भएपनि अहिले ०८२ सालमा राम्रो समन्वय रहेको उनको भनाई छ । साथै, मतदान स्थलको ३ सय मिटर वरिपरि कुनै पनि दलको प्रचार सामग्री भएमा त्यसलाई हटाउन र आचारसंहिता पालनामा सघाउन उनले पत्रकारहरूलाई आग्रह समेत गरेका हुन् ।
फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ । मतदान प्रक्रियालाई सहज र छिटो बनाउन आयोगले विशेष प्रवन्ध मिलाएको छ । उनकाअनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाताहरूलाई आफ्नो परिचय पत्र सुरक्षित राख्न र बिहान ७ बजेदेखि नै मतदानमा सहभागी हुन आह्वान गरे । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी नराखेको उनको दाबी छ । साथै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा शुन्य सहनशीलता’ को नीति अपनाउने चेतावनी समेत दिएको छ । हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिव १ हजार १ सय उजुरी परेकोमा तीमध्ये धेरैको स्थानीय स्तरमै फस्र्योट भइसकेको उनको भनाई छ । आयोगले २५–३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रिय स्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरू अदालतमा समेत पुगेको छ ।
तराईका जिल्लाहरूमा निर्वाचनको समयमा होली पर्व परे पनि यसले मतदान प्रक्रियामा कुनै नकारात्मक असर नपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मोरङ, रौतहट, बारा, पर्सा लगायतका तराईका जिल्लाहरूको भ्रमणपछि त्यहाँका मतदाताहरू ‘निर्वाचन मैत्री होली’ मनाउन तयार रहेको जानकारी दिए । उनकाअनुसार तराईका मतदाताहरू निर्वाचनप्रति सचेत र उत्साहित छन् । होलीको उल्लाससँगै निर्वाचनको महाकुम्भमा सहभागी हुन मतदाताहरू आतुर रहेको र यसले मतदानको वातावरणलाई अझ उल्लासमय बनाउने उनको विश्वास छ । पर्व र निर्वाचन दुवैलाई सँगसँगै सफल बनाउन तराईका नागरिकहरूले देखाएको प्रतिवद्धताको उनले प्रशंसा समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया