खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित 

लोकपथ
77
Shares

काठमाडौं । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । इरानले युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुवेतलगायत देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण थालेपछि त्यहाँ रहेका नेपालीको सुरक्षा चासो बढ्दै गएको अवस्थामा सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको बताएका छन् । उनले अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रम स्वीकृति प्रदान कार्य स्थगित गरिएको बताए ।

त्यस्तै श्रम मन्त्रालयमा रहेको कल सेन्टर चौबिसै घण्टा तयारी अवस्थामा राखिएको पनि उनको भनाइ छ । 

सरकारले तनाव बढ्दै गएको खण्डमा नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा त्यसका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ ।

‘परिस्थिति के कसरी विकसित हुन्छ, त्यो विकसित हुने घटनाक्रमको आधारमा भोलि–पर्सि गएर उद्धार गर्नुप¥यो भने त्यसका लागि पनि योजना बनाउने काम गरिराखेका छौंं,’ मन्त्री भण्डारीले भने । 

यस्तै, सम्बन्धित देशमा जान विमानस्थलमा बसेका मानिसलाई फर्केर आफ्नो घर जान अनुरोध गरिएको छ । बढ्दो तनावबीच ती देशमा सुरक्षा सतर्कता बढेको भन्दै सरकारले विमानस्थलमा रहेका नेपालीलाई घर फर्किन अनुरोध गरेको हो ।

इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?