काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा नगद चलखेल गरेको पाइए कडा कारबाही हुने चेतावनी दिएका छन् ।
आइतबार नेपाल प्रेस काउन्सिलले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मौन अवधिमा निर्वाचन सामग्री र नगद एकै ठाउँमा बरामद भए त्यस्ता उम्मेदवारको उम्मेदवारी नै खारेज गरिने बताए ।
भण्डारीका अनुसार निर्वाचनमा नगद चलखेल गरेको प्रमाणित भएमा सम्बन्धित उम्मेदवारलाई आगामी ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने व्यवस्था गरिएको छ । उनले नगद चलखेल गर्ने उम्मेदवार विजयी घोषित भए पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पारे ।
उनले मौन अवधिमा नगदको चलखेल हुने प्रवृत्ति देखिने गरेको उल्लेख गर्दै त्यस विरुद्ध आयोगले ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरेको बताए । ‘निर्वाचन सामग्री र रकम बोकेर हिँडेको अवस्थामा बरामद भए विजयी भए पनि उम्मेदवारी खारेज हुन्छ, ‘उनले भने ।
भण्डारीले निर्वाचन आचारसंहिता पालना गराउन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्दै आयोगले आचारसंहिताको कार्यान्वयनमा कडाइ गर्ने जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया