काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा रुख चिन्हमा मतदान गर्न सबैलाई आह्वान गरेका छन् ।
उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत ‘प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा रुख चुनाव चिन्हमा मतदान’ गर्न आह्वान गरेका हुन् ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिले मान्यता पाएपछि चुनावी मैदानमा कतै नदेखिएका खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत सातै प्रदेशका सबै मतदान केन्द्रमा जानुभई प्रतिनिधिसभा को प्रत्यक्ष र समानुपातिकतर्फका दुवै मतपत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमूल्य मतको स्वस्तिक छापको लालमोहर लगाइ भारी बहुमतका साथ विजयी गराइ दिनुहुन हृदयदेखि नै हार्दिक विनम्र अनुरोध गर्दछु ।’
२०४८, २०५१, २०५६ मा सुर्खेत १ बाट निर्वाचन जितेका खड्का २०६४ सालमा समानुपातिक सांसद बनेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी बनेका खड्का २०७४ मा पराजित भएका थिए । २०७९ को निर्वाचनमा भने उनी विजयी बनेका थिए । उनी यसअघि उम्मेदवार बन्दै आएको सुर्खेत–१ बाट अहिले उनका साहिँला भाइ विष्णु खड्का उम्मेदवार छन् ।
विशेष महाधिवेशन अवैध भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गराएका खड्काले माघ ६ गते उम्मेदवार बन्न नैतिकताले नमिल्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया