काठमाडौं । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएसँगै अब त्यहाँको नेतृत्व कसले सम्हाल्छ भन्ने चासो बढेको छ ।
सन् १९८९ देखि इरानको नेतृत्वमा रहेका खामेनीको अमेरिका र इजराइलले शनिबार बिहान तेहरानमा गरेको हवाई हमलामा परी मृत्यु भएको थियो । खामेनी मारिएको पुष्टि भने आइतबार बिहानमात्रै भएको थियो । इरानको सरकारी सुरक्षा बल इस्लामिक रिभोलुसनरी गाड्र्स कोर (आईआरजीसी)ले वक्तव्य जारी गरी खामेनीको मृत्यु भएको पुष्टि गरिसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी–इजरेली हमलामा परी खामेनी मारिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । ट्रम्पले ‘इरानी जनता’, ‘अमेरिकी जनता’ र ‘विश्वभरि धेरै मानिसका निम्ति’ ‘न्याय’ भएको भनी सामाजिक सञ्जालमा लेखेका छन् । उनले ‘बमबारी जारी रहने भन्दै ‘इरानी जनताका लागि’ उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको’ टिप्पणी गरेका छन् ।
उता, शनिबार इरानमाथि सैन्य कारबाही सुरु भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आक्रमणको उद्देश्य इरानको नेतृत्व परिवर्तन रहेको भनेका थिए ।
जुनमा पनि बनेको थियो खामेनीको हत्या योजना
यसअघि जुन महिनामा पनि इरानमाथिको हमलामा अमेरिकाले साथ दिएपछि इजरायलले खामेनीको हत्या गर्ने योजना बनाएको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमति नजनाएपछि खामेनीको हत्या योजनाबाट इजरायल पछि हटेको थियो ।
सर्वोच्च नेताका लागि को को छन् दाबेदार ?
आफ्नो हत्या हुनसक्ने आकलन गरेका खामेनीले त्यतिबेलै आफ्नो उत्तराधिकारीबारे परामर्श गरेको खुलेको थियो । त्यतिबेला उनले तीन जनालाई छानेर तीमध्ये एकलाई सर्वोच्च नेता बनाउने तयारी गरेको भनेर समाचारहरू सार्वजनिक भएका थिए ।
सिएनएनका अनुसार सम्भावित दाबेदारमध्ये खामेनीका दोस्रो छोरा ५६ वर्षीय मोज्तबा खामेनी चर्चामा छन् । उनी आईआरजीसी र बसीज स्वयंसेवी अर्धसैनिक बलसँग नजिक मानिन्छन् । तर शिया धार्मिक प्रतिष्ठानमा बुवाबाट छोरामा सत्ता हस्तान्तरणको अभ्यास रुचाइएको परम्परा नरहेकाले उनको सम्भावना कम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । यति मात्र नभई उनी उच्च तहका धर्मगुरुसमेत होइनन् । उनले हालसम्म औपचारिक सरकारी भूमिकासमेत निर्वाह गरेका छैनन् । यी विषय पनि उनका लागि चुनौतीका रूपमा हेरिएको छ
अर्का सम्भावित उम्मेदवारका रूपमा ६७ वर्षीय अलिरेजा अराफीलाई हेरिएको छ । एसेम्ब्ली अफ एक्सपर्टका उपाध्यक्ष तथा शक्तिशाली उनी इरानको धार्मिक शिक्षण प्रणालीका प्रमुखसमेत हुन् । राजनीतिक रूपमा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित नभएको र सुरक्षा संयन्त्रसँग नजिक सम्बन्ध नभएका व्यक्तिका रूपमा उनी चिनिन्छन् ।
अर्का सम्भावित उम्मेदवारका रूपमा ६० वर्षीय मोहम्मद मेहदी मिर्बाघेरीलाई हेरिएको छ । कडा धारका धर्मगुरु उनी कोमस्थित इस्लामिक साइन्सेस एकेडेमीका प्रमुख हुन् । उनलाई पश्चिमा देशहरूप्रति कडा दृष्टिकोण राख्ने व्यक्तिका रूपमा चिनिने गरिन्छ ।
यस्तै, इस्लामिक गणतन्त्रका संस्थापक आयातोल्लाह रूहोल्लाह खामेनीका नाति हसन खोमेनीलाई पनि सम्भावित उम्मेदवारका रूपमा लिइएको छ । तुलनात्मक रूपमा मध्यम धारका मानिने उनी सुरक्षा निकाय वा सत्तारुढ अभिजात वर्गसँग बलियो प्रभाव राख्ने नेताका रूपमा चिनिएका छैनन् ।
यस्तै, ६० वर्ष कट्न लागेका वरिष्ठ धर्मगुरु हाशेम होसेनी बुशेहरीलाई पनि उत्तराधिकार व्यवस्थापन गर्ने निकायहरूसँग नजिक रहेको बताइन्छ । एसेम्ब्ली अफ एक्सपर्टका प्रथम उपाध्यक्ष रहेका तर उनी घरेलु राजनीतिमा न्यून प्रोफाइलमा छन् ।
राष्ट्रप्रमुख तथा सेनाप्रमुखको हैसियतले सो पदलाई एकदम शक्तिशाली बनाएको छ । सेनाभित्र इरानी रेभोलुशनरी गार्ड कोर (आईआरजीसी) पनि पर्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने : ‘अब नेतृत्व कसले सम्हाल्छ, मलाई थाहा छ’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्युपछि इरानमा केही राम्रा उम्मेदवारहरू रहेको बताएका छन् । सिबिएस न्युजसँग टेलिफोन अन्तर्वार्तामा ट्रम्पले त्यहाँको नेतृत्व कसले सम्हाल्छ भन्ने विषयमा आफूलाई थाहा भएको पनि बताएका छन् । यद्यपि उनले नाम भने नखुलाएको सिबिएस न्युजले जनाएको छ
कसरी छानिन्छ सर्वोच्च नेता ?
इरानमा ८८ जना सदस्य रहेको विज्ञहरूको सभा (एसेम्ब्ली अफ एक्स्पर्ट)ले सर्वोच्च नेता छान्छ । सभाले सर्वोच्च नेताको उम्मेदवार छानेपछि त्यसमा मतदान हुन्छ । प्रक्रियागत ढंगले सर्वोच्च नेता छान्न महिनौं लाग्छ ।
खामेनीले आफ्नो उत्तराधिकारी नतोकेका कारण पनि विज्ञहरूको सभामा रहेका सदस्यहरूले पनि सर्वोच्च नेतामा दाबी गर्न सक्छन् भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ ।
सर्वोच्च नेताको योग्यतामा राजनीतिक र उच्च तहका शिया धर्मगुरु हुनु अनिवार्य रहन्छ ।
शनिबार बिहानै मारिएका थिए खामेनी
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार तेहरानमा खामेनीको निवास नजिकै शनिबार बिहान विस्फोटको भएको थियो । विस्फोटबाट खामेनीको निवाससँगै अन्य भवनहरूमा पनि क्षति पुगेको थियो । सोही आक्रमणमा खामेनीसँगै उनकी छोरी, ज्वाइँ, बुहारी र नाति मारिएका थिए ।
खामेनीको मृत्युमा इरानमा ४० दिने शोक घोषणा गरिएको छ भने सात दिन सार्वजनिक बिदा दिइएको छ । आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए ।
८६ वर्षीय खामेनीको मृत्यु भएपछि इरानमा विभिन्न स्थानहरूमा नागरिकहरूले उत्सव मनाएको भनेर अमेरिकी सञ्चारमाध्यमहरूले लेखेका छन् ।
को हुन् खामेनी ?
खामेनी विगत ३७ वर्षदेखि इरानका सर्वोच्च नेता रहिआएका थिए । खामेनी सन् १९७९ को क्रान्तिपछिका इरानका दोस्रा सर्वोच्च नेता हुन् । सन् १९८९ मा रुहोल्लाह खामेनीको निधनपछि उनी सर्वोच्च नेता बन्न पुगेका थिए । खामेनीका कट्टरपन्थी धारणा र नीतिहरूले नै हालको इस्लामिक गणतन्त्रमा मानिसहरूको जनजीवनलाई आकार दिएको मानिन्छ । विगत चार दशकदेखि शक्तिमा रहिआएका खामेनीको कार्यालयको शक्तिले उनलाई देशको सर्वशक्तिमान् व्यक्ति बनाएको थियो । उनी इरानी सत्ताको एउटा जटिल जालोको केन्द्रमा थिए जो सार्वजनिक नीतिसम्बन्धी मामिला एवं सार्वजनिक पदका उम्मेदवार चयन प्रक्रियामा विशेषाधिकार प्रयोग गर्ने अधिकार राख्थे ।
खामेनी इरानको दोस्रो ठूलो शहर मश्हादमा सन् १९३९ मा जन्मिएका थिए । धार्मिक परिवारमा जन्मिएका उनी आमाबुवाको आठमध्ये दोस्रो सन्तान थिए । इरानमा वर्चस्व रहेको शिया मुस्लिम समुदायका उनका बुवा मध्यम तहका धार्मिक गुरु थिए । अली खामेनीको अध्ययनमा कुरानको शिक्षा मुख्य रूपमा रहेको छ । एघार वर्षका उमेरमा उनी धार्मिक गुरुका रूपमा दीक्षित भएका थिए । तर धार्मिक गुरुहरूको भूमिका आध्यात्मिकभन्दा राजनीतिक बढी हुने गरेको अभ्यासबीच अली खामेनीको पनि सोही किसिमको भूमिका रह्यो ।
एक प्रभावकारी वाक्पटु अली खामेनी इरानका शाहको आलोचक खेमामा जोडिए । इरानको राजतन्त्र इस्लामिक क्रान्तिबाट फालिएको थियो । कैयौँ वर्षसम्म उनी भूमिगत रहे अथवा उनले जेलमा बिताए । उनी शाहका गोप्य प्रहरीहरूद्वारा छ पटकसम्म गिरफ्तारीमा परे– सो क्रममा यातना झेल्नुका साथै उनी आन्तरिक रूपमा निर्वासित पनि भए ।
सन् १९७९ को इस्लामिक क्रान्तिको एक वर्षपछि आयतोल्लाह रुहुल्लाह खोमेनीले राजधानी तेहरानका लागि उनलाई शुक्रबारको साप्ताहिक प्रार्थनाका नेतृत्वकर्तामा चयन गरे ।
पछि अली खामेनी सन् १९८१ मा इरानको राष्ट्रपति पदमा निर्वाचित भए । सन् १९८९ मा उनलाई धार्मिक अगुवाहरूले आयतोल्लाह खोमेनीका उत्तराधिकारीका रूपमा चयन गरे ।
चार छोरा र दुई छोरी
अली खामेनी विरलै विदेश जान्थे र मध्य तेहरानमा आफ्नी श्रीमतीसँग उनले साधारण जीवन बिताउँदै आएको बताइन्थ्यो । उनलाई बगैँचामा फूलहरू हेर्न र कविता मन पर्ने बताइन्थ्यो । जवानीमा उनले धूमपान गर्ने गरेको बताइन्छ जुन कुरा इरानमा धार्मिक गुरुहरूबीच स्वाभाविक मानिँदैन ।
सन् १९८० को दशकमा गरिएको खामेनीको हत्या प्रयासपछि उनको दाहिने हातले काम गर्न छोडेको थियो ।
मन्सुरेह खोज्स्तेह बकेरजादेहसँग विवाह गरेका खामेनी चार छोरा र दुई छोरीका पिता थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया