काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये ९४ लाई स्पष्टीकरण सोधिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
हालसम्म ८८ जनालाई स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए । दोहोर्याएर स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ प्राप्त नभएपछि आयोगले आठ जनालाई कारबाही गरेको उनले बताए ।
आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको जोशीले जानकारी दिए ।
उनका अनुसार निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरेर दल र उम्मेदवार विशेष निर्वाचित हुँदै भनी समाचार सामग्री प्रकाशन गर्ने सेतोपाटी अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत स्पष्टीकरण सोधिएको छ । जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिता उल्लंघनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेका छन् । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ ।
प्राप्त भएका ५७ वटा जवाफको थप अध्ययन भइरहेको पनि आयोगले जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरु क्रियाशील रहेको कानुन अधिकृत जोशीले बताए ।
जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रकरकोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
छोटो समयमा सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ । जिल्लास्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ माग गरेर दोषी देखिएकालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगका कानुन अधिकृत जोशीले उल्लेख गरे ।
जिल्लाजिल्लामा गरी हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटाको फर्छ्यौट गरिएको आयोगले जनाएको छ । उनका अनुसार राजनीतिक दल र उम्मेदवार निर्वाचन आचारसंहिता, २०८२ उल्लंघनसम्बन्धी लुम्बिनी प्रदेशका जिल्लामा बढी उजुरी परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया