इरानमाथि इजरायल र अमेरिकाकाे आक्रमण : राजधानीभर धुवाँ र विस्फोटका आवाज

लोकपथ
217
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गरेका छन् ।

पहिलो आक्रमण राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिक भएको रिपोर्ट आएको छ । सहरका विभिन्न भागबाट धुवाँ उठेको दृश्य देखिएको  सञ्चार माध्यमले जनाएको छ ।

ट्रम्पले आक्रमणका कारणबारे अमेरिकाले ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ सुरु गरेको र इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गरेका छन् ।

इरानमाथिको आक्रमण त्यतिबेला भएको हो जब अमेरिका क्षेत्रीय दबाब बढाउँदै लडाकू जेट र युद्धपोत तैनाथ गरिरहेको थियो । इजरायली अभियानले इरानी सेना, सरकारी प्रतीक र गुप्तचर संरचनाहरूलाई लक्षित गरेको छ ।

तेहरानमा खामेनीको कम्पाउन्ड जाने सडकहरू बन्द गरिएका छन् भने राजधानीभर विस्फोटका आवाज सुन्न सकिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

 इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र मोबाइल सेवा पनि अवरुद्ध गरिएको छ । छिमेकी इराकले पनि हवाई क्षेत्र बन्द गरेको जनाएको छ ।

इरायलमा साइरन बजाएर सम्भावित क्षेप्यास्त्र प्रहारका लागि जनतालाई सतर्क रहन चेतावनी दिइएको छ । अस्पतालहरूले आकस्मिक प्रोटोकल लागू गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन् । इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ ।

इरानले तत्काल प्रतिआक्रमण गर्नेबारे स्पष्ट गरेको छैन, तर क्षेत्रभर रहेका अमेरिकी सैन्य अड्डा र कर्मचारीहरू सम्भावित जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताएका छन् ।

 सञ्चार माध्यमका अनुसार अहिलेसम्म हताहतबारे आधिकारिक जानकारी आएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?