…. अनि मैले आत्महत्या गर्न विष पिएँ : चिमोरिया

लोकपथ
1.1k
Shares

काठमाडाैं । टिकटकर तुलसा अधिकारीमाथि लागेको आपराधिक लाभ अर्थात् हनी ट्र्याप र ठगीको कसुरमा यतिबेला प्रहरीले अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा आफूलाई पीडित हुँ भन्दै प्रहरीमा जाहेरी दिने परिवर्तित नाम शंकर चिमोरियाले आफूलाई अत्यधिक तनाव दिएपछि आत्महत्याको प्रयास गरेको खुलासा गरेका छन् ।

लोकपथसँग चिमोरियाले गरेको २ घण्टा २४ मिनेट लामो कुराकानीमा आफूमाथि कसरी ब्ल्याकमेल भयो र आर्थिक र पारिवारिक जीवन करिब करिब सकिएपछि कसरी आत्महत्याको प्रयास गरेँ भनी बताएका छन् ।

शंकरका अनुसार तुलसाको टर्चरपछि उनले आत्महत्या गर्न ‘विष’ पिएका थिए । तर उक्त विषले उनको ज्यान लिन भने सकेन । बरु अचेत र अर्ध चेत अवस्थामा १५ दिनसम्म बिएण्डी अस्पतालको आइसियु र एजडियुमा उपचार गर्नुपर्‍यो ।

टिकटक स्टार तुलसाको हनीट्र्याप जालो : अन्तरंग फोटो र भिडियो देखाएर गर्थिन् ब्ल्याकमेल

त्यसपछि मृत्युको मुखबाट फर्किएका उनलाई बल्ल उनको परिवारले साथ दियो र तुलासाको ‘अत्याचार’ (शंकरका अनुसार) विरुद्ध लड्ने साहस जुट्यो । त्यसपछि बिस्तारै आफ्नो फसेको पैसा उठाउने र छुटकारा पाउने बाटो खोजेको उनले बताए ।

किन खाए विष ?
शंकरका अनुसार तुलसाले अत्यधिक तनाव दिँदा पनि उनी चुपचाप सहिरहेकै थिए । तर २०८० साउनको सुरुवातमै तुलसा एकाएक शंकरको घरमा पुगिन् । शंकरको घरमा पुगेर तुलसाले शंकरकी श्रीमतीलाई शंकर र तुलसाको अन्तरंग फोटो तथा भिडियो देखाई आफूलाई फसाएको दाबी गरिन् ।

आरोपित टिकटकर तुलसा अधिकारी ।

तुलसा घरमै पुगेर झगडा गरेपछि शंकर पनि घरमा पुगे । त्यसपछि सबै कुरा छताछुल्ल भयो । घरमा शंकरमाथि नै आक्रमण भयो, यता तुलसाले पनि आफ्नो रिस सबै शंकरमाथि थोपरिन् ।

शंकरले झुट बोलेर आफूलाई फसाएको भन्दै त्यसको सबै दोष शंकरलाई लगाइन् । यता आफूलाई धोका दिएको भन्दै शंकरकी श्रीमती र शंकरका ससुरालीले उनीमाथि आक्रमण गरे ।

त्यसपछि विक्षिप्त बनेका शंकर आत्महत्या गर्न भन्दै घरबाट निस्किए । उनले केही पसलहरूमा विष किन्नका लागि कुराकानी गरे ।

तर शंकरलाई कुनै पनि पसलले विष दिएनन् ।

त्यसपछि शंकर रातको करिब ९ बजे सरासर आफ्नो अटो शो रुममा आए । त्यहाँ आएर ट्वाइलेट सफा गर्न राखेको फिनेल पिइदिए । करिब एक लिटर पिएपछि त्यसको केही समयपछि उनी बेहोस भए । यो २०८० साउन ३ गतेको कुरा थियो ।
जब उनी ब्युँझिए, उनी बिएण्डबी अस्पतालको आइसियुमा उपचाररत अवस्थामा थिए ।

पीडित परिवर्तित नाम शंकर चिमोरिया ।

त्यसपछि बिएण्डबी अस्पतालमै १५ दिनसम्म आइसियु र एचडियु युनिटमा राखेर उपचार भएको शंकरले लोकपथलाई बताए ।
उपचारपछि शंकरलाई उनकी श्रीमतीले पनि साथ दिन थालिन् । शंकरको परिवार र उनको ससुरालीले पनि शंकरलाई साथ दिँदै तुलसाविरुद्ध कानुनी कारबाहीमा जाने निधो गरे ।

त्यसपछि शंकरले तुलसाका लागि कहाँ कति खर्च दिएँ र कुन कुन पसल खोल्न कति कति लगानी गरेँ भनेर सबै सुनाएपछि शंकरकी श्रीमती लगायतका व्यक्तिहरू गएर तुलासाको ग्वार्को र लगनखेलको दुवै पसल नियन्त्रणमा लिए ।

कानुनी कारबाहीमा जानुभन्दा अगाडि छलफल गरे टुङ्ग्याउने भन्दै तुलसाले नै प्रस्ताव गरेपछि तुलासाले पसल चिमोरियाकी श्रीमतीलाई जिम्मा लगाउँदै अब झै-झगडा नगर्ने र लेनदेन बाँकी समेत नभएको भन्दै नेपाली कागजमा कपाली तमसुक बनाइएको थियो । सो कुरा तुलसाले समेत लोकपथसँगको कुराकानीमा स्वीकार गरेकी छिन् ।

विष पिएको सम्बन्धमा शंकरले लोकपथसँग गरेको कुराकानीको अंश यस्तो छ ।

लोकपथ संवाददाता: ओके ब्याक टु फेरि सुसाइड एटेम्टको कुरा । तपाईँले सुसाइड एटेम्ट गरेको हो ? के हो ?

शंकरः अँ प्रयास गर्‍या हो ।

लोकपथ संवाददाता: कहाँ कसरी गर्नुभयो ? किन ? यो कहिलेको कुरा थियो ?

शंकरः अब त्यो चाहिँ मलाई अत्यधिक तनाव हुन थाल्यो । दिमागी हालत पनि बिग्रन थाल्यो … मिति चाहिँ मैले पनि हेर्नुपर्छ । अचेल कतिपय कुराहरू याद गर्न पनि गाह्रो भइरहेको छ ।

लोकपथ संवाददाता: स्ट्रेसको कारणले ?

शंकरः अँ हो ।

लोकपथ संवाददाता: ओके मितिहरू चाहिएन, कुन ठाउँमा ?

शंकरः बिएण्डबी हस्पिटलमै म एडमिट भएरै बसेको हो ।

लोकपथ संवाददाता: करिब करिब कति समय अगाडि होला ?

शंकरः ठ्याक्कै यादै भएन अब त्यस्तै दुई वर्ष जति नै भयो होला ।

लोकपथ संवाददाता: भनेको त्यही दुई वर्ष अगाडि ताका ?

शंकरः अँ त्यस्तै दुई वर्ष जति नै भयो होला ।

लोकपथ संवाददाता: ओके ।

शंकरः अब जुन … अब मेरो धज्जी नै उडाउने विचार नियतले चाहिँ सबै कुरा गइसक्यो । मैले घरमै छलफल हुँदा त्यहाँ रुवाबासी गर्ने, चिच्याउने, ‘माफ गर्दिनु’ भन्ने, हैन, ‘सरी’ माग्ने चिजहरू पनि गरेकै हो । किनभने उहाँ नेपालमै भयो भने कमसेकम मेरो पैसाहरू फिर्ता आउँछ होला भन्ने टाइपले मैले उनीसँग माफी माग्ने लगायतका कामहरू गरेकै हो । किनभने उनले पनि माफी मागेर भिडियो बना, यो गर त्यो गर अनि तेरो पैसा फिर्ता गर्छु भनिन् । मैले गरेकै हो । तर मेरो त्यो प्रयास पनि विफल भयो । मेरो सबै प्रयास विफल भएर पारिवारिक, सामाजिक र आर्थिक क्षति भइसकेपछि मलाई बाँच्न नै मन लागेन, अनि आत्महत्या गर्न भनेर निस्किएँ । त्यस्तै राती करिब ९ बजेतिर म अफिसमा आएथेँ, घरमा नबसीकन ।

पीडित परिवर्तित नाम शंकर चिमोरिया ।

….. मैले केही समेत पसलहरूमा पोइजन खोजेँ । तर मलाई कसैले पोइजन दिएनन् । लास्टमा चाहिँ त्यो सेतो ट्वाइलेटमा हाल्ने फिनेल त्यस्तै मैले एक बोतल जति नै सेवन गर्‍या थिएँ, अनि बेहोस भएर ढलेछु । पछि ब्युँझँदा म बिएण्डबी अस्पतालमा रहेछु …….

लोकपथ संवाददाता: घरबाटै राती ९-१० बजे अफिस आउनुभयो ?

शंकरः अँ अफिस आएँ, कहाँ जाऊँ कहाँ जाऊँ भयो मलाई । किनकि मलाई अलिकति त्यस्तै–त्यस्तै भा थ्यो । अनि त्यसपछाडि मैले केही समेत पसलहरूमा पोइजन खोजेँ । तर मलाई कसैले पोइजन दिएनन् । लास्टमा चाहिँ त्यो सेतो ट्वाइलेटमा हाल्ने समथिङ के जाति… फिनेल… त्यस्तै मैले एक बोतल जति नै सेवन गर्‍या थिएँ । अनि बेहोस भएर ढलेछु । पछि ब्युँझँदा म बिएण्डबी अस्पतालमा रहेछु । मलाई मेरो बहिन् लगायतले अस्पताल पुराएका रहेछन् ।

लोकपथ संवाददाता: भनेको तपाईँले आफैँलाई मार्ने उद्देश्यले खानुभएको थियो कि धम्क्याउनलाई ?

शंकरः मर्ने नै उद्देश्यले हो । मसित केही उपाय नै बाँकी थिएन ।

लोकपथ संवाददाता: त्यो खाएपछि बेहोस हुनुभयो ?

शंकरः म बेहोस भएछु । मलाई केही थाहा नै भएन । होस खुल्दा अस्पतालमा थिएँ ।

लोकपथ संवाददाता: बेहोस भएपछि कसले थाहा पाएर तपाईँलाई हस्पिटल पुर्‍यायो ?

शंकरः पहिला सुरुमा मेरो बहिनीले ।

लोकपथ संवाददाता: त्यो चाहिँ कहाँ घरमा कि अफिसमै ?

शंकरः अफिसमै, अफिसमै । अनि त्यसपछाडि मलाई बिएण्डबी हस्पिटलमा लगभग १५ दिन राखेर उपचार गराए । अस्पतालमा अझै बस्नुपर्छ भनेका थिए, तर मैले चाहिँ अब घरमै गएर रेस्ट गर्छु, अफिस पनि चलाउनु छ भनेर जबरजस्ती अस्पतालबाट निस्किएँ । विष खाएको कुरा त्यही हो ।

लोकपथ संवाददाता: तपाईँसँग भएको कुराकानी मैले पूर्व जानकारी दिएर रेकर्ड गराएको छु र यो समाचार प्रयोजनकै लागि हो । तपाईँले झुट त बोल्नुभएको छैन नि ?

…. अब चाहिँ ब्ल्याकमेलका ती फोटाहरू, भिडियोहरू, रेकर्डहरूले मलाई कुनै पनि असर गर्न छाडेको छ । म केही बलियो भएको छु । अहिले हिजोका मेरा गल्तीहरूलाई माफ गरेर परिवारले साथ दिएका छन् । म यतिबेला कानुनी लडाइँमै छु …….

शंकरः मैले यसमा कुनै जोडबल बढाउने अथवा चाहिँ त्यस्ता कुराहरू केही गर्‍या छैन । हो, कमी कमजोरी मेरोबाट पनि भएको थियो, मैले पनि अलिकति सुझबुझ गर्नुपर्ने थियो तर मलाई बाध्यतामा पारियो । बाध्यता पारिँदै-पारिँदै-पारिँदै लास्टमा उहाँहरूले मलाई त्यो लेभलमा पुर्‍याउनु भयो । अब चाहिँ ब्ल्याकमेलका ती फोटाहरू, भिडियोहरू, रेकर्डहरूले मलाई कुनै पनि असर गर्न छाडेको छ । म केही बलियो भएको छु । अहिले हिजोका मेरा गल्तीहरूलाई माफ गरेर परिवारले साथ दिएका छन् । म यतिबेला कानुनी लडाइँमै छु ।

परिवर्तित नाम शंकर अधिकारीले आफूसँग आपराधिक लाभ लिई ठगीसमेत गरेको आरोपमा तुलसा अधिकारीमाथि प्रहरीमा जाहेरी दिएका छन् । उक्त जाहेरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीको अनुसन्धान हाल अन्तिम चरणमा पुगेको र अब चाँडै नै मुद्दा दायर गर्ने तयारी भइरहेको जनाएको छ ।

यता आरोपित तुलसा अधिकारीले भने सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिँदै आरोपित शंकर चिमोरियासँग आफू सम्बन्धमा रहेको स्वीकार गर्दै शंकरका सबै आरोपमा सत्यता नभएको बताएकी छिन् । आफूलाई झुक्यानमा पारी विवाह गर्छु भनेर सम्बन्धमा रहेको र पछि आफूले झूटो कुरा थाहा पाएपछि टाढिएको उनले बताएकी छिन् । झुक्यानमा पारी प्रेम गर्नु वा सम्बन्ध राख्नु पनि बलात्कार नै भएको तुलसाको आरोप छ । यद्यपि उनी फरार छिन् ।

(यो समाचार पीडित भनिएका परिवर्तित नाम शंकर चिमोरियासँग गरिएको कुराकानी र उनले दिएको जाहेरीका आधारमा तयार पारिएको हो । यस सम्बन्धमा तुलसासँग कुराकानी हुँदा उनले अहिले सबै विषयमा नआउने र बोल्नु पर्ने कुराहरू अदालतमै बोल्ने बताइन् । यद्यपि चिमोरियाले भनेका कुराहरूमा केही सत्य, केही अर्ध सत्य र केही शतप्रतिशत झुट भएको उनको आरोप छ ।)

याे पनि …..

तुलसाको हनीट्रयाप जालोमा जोडिएकी थिइन् कांग्रेस नेतृ, गरेकी थिइन् चिमोरियाको अपहरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?