काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभर मदिरा विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।
निर्वाचन आयोगको सिफारिसमा सरकारले शुक्रबारदेखि मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको हो । आयोगले प्रतिबन्धको कार्यान्वयन भए/नभएको बारेमा सूक्ष्म अनुगमन गर्ने पनि जनाएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले फागुन १५ गतेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मको लागि मदिरा विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको जानकारी दिए ।
निर्वाचनको अवधिमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम राख्न उक्त निर्णय गरिएको हो । तोकिएको अवधिमा मदिरा विक्री–वितरण वा सेवन गरेको पाइए प्रचलित कानूनअनुसार कारबाही गरिने उनले जानकारी दिए ।
उनले भने, ‘फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शान्ति सुव्यवस्था कायम गर्नको लागि निर्वाचन आयोगले नेपाल सरकारलाई केही व्यवस्थाहरूको सिफारिस गरेको छ । जस अन्तर्गत निर्वाचनको मितिभन्दा ७ दिन अगाडी अर्थात् २०८२ साल फागुन १५ गतेदेखि मतदानको कार्य सम्पन्न नहुन्जेलसम्मको लागी कुनै पनि प्रकारका मदिराहरू विक्री वितरण गर्न र सेवन गर्न नपाउने गरी निषेधको व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम आम रूपमा यस्ता क्रियाकलाप भएका छन् कि छैनन् भनेर निर्वाचन आयोगले पनि सूक्ष्म रूपमा अनुगमन गर्ने गरेको हुँदा सम्पूर्ण सरोकारवालाहरूले यस्ता किसिमका गतिविधिहरू नगर्न र नगराउनको लागि पनि निर्वाचन आयोगले सम्पूर्ण मतदाता लगायत सरोकारवालाहरू सबैमा हार्दिक अनुरोध गरेको छ । यस किसिमको शान्ति सुव्यवस्था कायम गर्नको लागी निर्वाचन आयोग सम्पूर्ण निर्वाचनसंग सम्बद्ध राजनीतिक दल, उम्मेदवार र सुरक्षा निकायहरूलाई पनि अनुरोध गर्दछ ।’
आयोगले सम्पूर्ण मतदाता, व्यवसायी, राजनीतिक दल, उम्मेदवार तथा सुरक्षा निकायलाई निर्वाचन अवधिभर आचारसंहिताको पालन गरी सहयोग गर्न आग्रह गरेको छ ।
निर्वाचनसँग सम्बद्ध सबै पक्षले आ-आफ्नो जिम्मेवारी निर्वाह गरी मर्यादित र अनुशासित वातावरणमा मतदान सम्पन्न गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया