धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्या : प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो । 

गत फागुन १४ गते बिहीबार अपरान्ह करिब ४ बजे औरही गाउँपालिका–६, चक्करस्थित भित्री सडक खण्डभन्दा ३०० मिटर पूर्व मसुरी खेतमा एक युवकको शव फेला परेको थियो । 

घाँटी रेटिएको अवस्थामा फेला परेको उक्त शवको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलको रूपमा भएको छ । उनी सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक सुमित र हंसपुर नगरपालिका–६, सोनिगामा बस्ने १७ वर्षीया काजल कुमारी मण्डलबिच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । फागुन १३ गते साँझ काजलले घरमा कोही नभएको मौका छोपी सुमितलाई भेट्न बोलाएकी थिइन् । सोही क्रममा काजलका परिवारका सदस्यहरूले उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि विवाद सुरु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुग्मबहादुर कुँवरका अनुसार, सुमितलाई नियन्त्रणमा लिएपछि काजलका दाजु २० वर्षीय दीपेशकुमार मण्डल र काकाका छोरा (दाजु) २९ वर्षीय परमेश्वर मण्डलले भैँसी बाँध्ने डोरीले सुमितको दुवै हात पछाडि बाँधेका थिए । त्यसपछि उनलाई आफ्नै मोटरसाइकलमा राखेर घरदेखि करिब डेढ किलोमिटर टाढा मानव बस्ती नभएको मसुरी खेतमा लगिएको थियो । त्यहाँ खुकुरी (दाउ) प्रहार गरी घाँटी रेटेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्यापछि अभियुक्तहरूले प्रमाण लुकाउन सुमितको मोटरसाइकल विदेह नगरपालिका–१ स्थित एक साथीको घरमा लुकाएर राखेका थिए । प्रहरीले उक्त मोटरसाइकल, हत्यामा प्रयोग गरिएको धारिलो हतियार (खुकुरी) र हात बाँध्न प्रयोग गरिएको डोरी समेत बरामद गरेको छ । 

पक्राउ पर्नेहरूमा मृतककी प्रेमिका काजल कुमारी मण्डल, उनका दाजु दीपेशकुमार मण्डल र दाजु परमेश्वर मण्डल रहेका छन् । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एसपी कुँवरले भने, ‘हामीले घटनाको जानकारी पाउने बित्तिकै टोली परिचालन गरेर अनुसन्धान सुरु गरेका थियौँ । प्रेम सम्बन्धकै कारण रिसइबी साँधेर योजनाबद्ध रूपमा हत्या गरिएको देखिन्छ । अभियुक्तहरूले सुरुमा घटना लुकाउन खोजे पनि प्राविधिक र स्थलगत अनुसन्धानबाट उनीहरूलाई पक्राउ गर्न सफल भएका छौँ ।’

धनुषामा पछिल्लो समय भएका ६ वटा हत्याका घटनामध्ये ४ वटाको सफल अनुसन्धान गरी संलग्नहरूलाई कानुनी दायरामा ल्याइसकिएको र बाँकी दुई वटा घटनाको पनि सूक्ष्म अनुसन्धान भइरहेको एसपी कुँवरले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?