निर्वाचन तयारी बुझ्न गृहमन्त्रीद्वारा ५ जिल्लाका मतदानस्थल अनुगमन

लोकपथ
0
Shares

काठमाडौं । ओमप्रकाश अर्याल ले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन एकै दिन पाँच जिल्लाका मतदानस्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।

 उनसँग रामप्रसाद भण्डारी सहित उच्च सुरक्षा अधिकारीहरूको टोली सहभागी थियो । टोलीले सम्बन्धित जिल्लाका जिल्ला सुरक्षा समिति, प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल र अन्तरक्रिया गरेको थियो ।

गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार मन्त्री अर्याल नेतृत्वको टोलीले बिहान दोलखाको बैदेश्वर गाउँपालिकास्थित मतदानस्थलको अनुगमन गरी सुरक्षा अवस्थाको समीक्षा गरेको थियो । त्यसपछि टोली ओखलढुंगा पुगेर निर्वाचन तयारी र शान्ति सुरक्षाबारे अन्तरक्रिया गरेको थियो ।

पहाडी जिल्लाको अवलोकनपछि टोलीले तराई-मधेसका मोरङ, रौतहट र पर्सा जिल्लाका मतदानस्थलको निरीक्षण गर्दै सरोकारवालासँग छलफल गरेको थियो । पर्सामा आयोजित छलफलमा बाराका जिल्ला सुरक्षा समिति तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

छलफलका क्रममा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्दै शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी रहेकाले निर्धक्क भएर मतदानमा सहभागी हुन सबैलाई आग्रह गरे।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्वाचन तयारी तथा समग्र सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए भने मुख्य निर्वाचन अधिकृतहरूले कर्मचारी व्यवस्थापनदेखि राजनीतिक दलसँगको समन्वयसम्मको तयारी चुस्त रहेको बताएका थिए।

रौतहटमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले तराई-मधेस क्षेत्रमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे।  

अनुगमन टोलीमा राजु अर्याल, प्रदीपजङ्ग केसी, गणेश ठाडामगर, आनन्द काफ्ले तथा विष्णु भट्ट लगायत उच्च अधिकारी सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?