उम्मेदवार र परिवारको खातामा आयोगको निगरानी

लोकपथ
28
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी सुरु गरेको छ । 

निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्ने गरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवार सहितको खातामा निगरानी बढाएको हो । 

चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले आचारसंहितामा नै बैक खातामार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । बैंक खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधानको पालन नभएपछि आयोगले निर्वाचन प्रचारप्रसारको समयमा उम्मेदवारसहित परिवारका सदस्यहरूको बैंक खाताको कारोबारमा निगरानी बढाएको हो । केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानुनअनुसार आयोगले कारबाहीको निर्णय गर्ने बताए ।  

उम्मेदवारको चुनावी खर्चको अनुगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भइरहेको उनले उल्लेख गरे । 

उनले भने,‘हामीले उम्मेदवारले गर्ने खर्चका सम्बन्धमा जिल्लादेखि नै अनुगमन गरिरहेका छौ । त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारीले निर्वाचन सामग्रीमा भएको खर्च अनुगमन गर्नुहुन्छ भने कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतले सम्बन्धित जिल्लाका निर्वाचन उम्मेदवारको वित्तीय अवस्थाको अनुगमन गर्नुहुन्छ । हामीले राष्ट्रबैंकलाई पत्राचार पनि गरेका छौँ । यदि उम्मेदवारले पुरानै खाता प्रयोग गरेर खर्च गर्नुभएको छ भने, हामीले उम्मेदवार र उम्मेदवारको परिवारको बैंक खाताको कारोबारको निगरानी गरिरहेका छौँ । आयोगले निर्वाचन प्रयोजनको छुट्टै खाता खोल्न निर्देशन जारी गरेका थियौ । निर्देशन मान्नुभएन भने, भविष्यमा आचारसंहिता उल्लघंन अन्तर्गत निर्वाचन कसुरको ऐन आकर्षित गरी ब्ल्याकलिस्टमा राखेर आयोगले कारबाहीको निर्णय गर्न सक्छ । हामी त्यो गर्न सक्छौँ । ’

आयुक्त जबराले आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण मिलाउन पनि सबैलाई आग्रह  गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?