काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले जेनेभामा भएको अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा उल्लेखनीय प्रगति भएको बताएका छन् ।
राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा मन्त्री अराघचीले तेहरान र वाशिंगटनबीचको वार्ता सकारात्मक दिशामा अघि बढेको उल्लेख गर्दै चाँडै चौथो चरणको वार्ता हुने जानकारी दिए । उनका अनुसार आगामी सोमबार भियनामा प्राविधिक तहको वार्ता तय गरिएको छ ।
अराघचीका अनुसार वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका सय्यिद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले निर्वाह गरेका थिए । यसअघि पनि दुवै देशबीच संवाद स्थापनामा ओमानले सहजीकरण गर्दै आएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले केही प्राविधिक विषयमा योगदान दिएको जनाइएको छ । उक्त योगदानलाई दुवै पक्षले सकारात्मक रूपमा लिएको बताइएको छ ।
यो पछिल्लो वार्ता इरान र अमेरिकाबीच बढ्दो तनाव तथा पश्चिम एसियामा अमेरिकी सैन्य उपस्थितिको विस्तारका बीच सम्पन्न भएको हो । यसअघि पहिलो चरणको वार्ता मस्कटमा र दोस्रो चरण जेनेभामा भएको थियो ।
वार्ताका हालसम्मका प्रगतिले सम्भावित आणविक सम्झौताप्रति आशा जगाए पनि दुवै पक्षबीच अझै महत्वपूर्ण चुनौतीहरू बाँकी रहेको विश्लेषण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया