सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी, मौखिक गुनासा बढ्दो

लोकपथ
28
Shares

सङ्खुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी बढ्दै गएका छन् । निर्वाचन नजिकिँदै जाँदा प्रचार गतिविधि चर्किँदा प्रशासनले अनुगमन तथा निगरानीसमेत कडा बनाएको जनाएको छ ।

जिल्लामा हालसम्म आचारसंहिता उल्लङ्घनसम्बन्धी ३३ वटा उजुरी परेका छन् । तीमध्ये २१ वटा मौखिक र ६ वटा लिखित उजुरी रहेका छन् । साथै, ६ वटा उजुरी पार्टी तथा उम्मेदवारविरुद्ध दर्ता भएका छन् ।

निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक चिरञ्जीवी अधिकारीका अनुसार आचारसंहिताविपरीत टोपी, टिसर्ट, ब्यानर वितरण तथा मोटरसाइकल र्‍याली गरेको भन्दै उजुरी परेका हुन् । उल्लङ्घन गर्ने पार्टी वा उम्मेदवारको नाम भने सार्वजनिक गरिएको छैन ।

लिखित उजुरीका आधारमा सम्बन्धित पार्टी, उम्मेदवार तथा दललाई लिखित तथा मौखिक स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको छ । मौखिक उजुरीका हकमा भने प्रारम्भिक छलफल र सचेत गराउने अभ्यास गरिएको अधिकारीले जानकारी दिए । उजुरीउपर प्रारम्भिक छानबिन गरी आवश्यक निर्देशन दिने काम भइरहेको जनाइएको छ ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ। यहाँ एक लाख १९ हजार ६३० मतदाता रहेका छन् । १०९ मतदानस्थल र १६४ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा १५ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?