तुलसाको हनीट्रयाप जालोमा जोडिएकी थिइन् कांग्रेस नेतृ, गरेकी थिइन् चिमोरियाको अपहरण

लोकपथ
1k
Shares

काठमाडाैं । टिकटकर तुलसा अधिकारीमाथि लागेको आपराधिक लाभ र ठगीको कसुरमा एक कांग्रेस नेतृको संलग्नता रहेको आरोप लागेको छ । पीडित भनिएका युवा परिवर्तित नाम शंकर चिमोरियाले तुलसाको हनी ट्र्यापको जालोमा नेपाली कांग्रेसकी एक नेतृको समेत संलग्नता रहेको आरोप लगाएकी छिन् ।

लोकपथसँग २ घण्टा २४ मिनेट लामो कुराकानीमा चिमोरियाले हनी ट्र्यापको यो जालोमा नेपाली कांग्रेसकी एक जना पूर्व केन्द्रीय सदस्यको समेत संलग्नता रहेको आरोप लगाएका हुन् । लोकपथसँगको कुराकानीमा चिमोरियाले तुलसा अधिकारीसँग मिलेर कांग्रेसकी एक नेतृले आफूलाई अपहरण गरेको र तुलसासँग नमिले ज्यान जानेसम्मको धम्की दिएको आरोप लगाएका हुन् ।

टिकटकर तुलसा अधिकारी ।

पहिले तुलसा अधिकारीको हनी ट्र्यापसम्बन्धी पीडित भनिएका शंकर चिमोरियाको आरोप र आफू के कसरी हनी ट्र्यापमा परे भनेर गरिएको कुराकानीको विस्तृत विवरण यहाँ पढ्नुहोस् ।

टिकटक स्टार तुलसाको हनीट्र्याप जालो : अन्तरंग फोटो र भिडियो देखाएर गर्थिन् ब्ल्याकमेल

चिमोरियाका अनुसार तुलसासँग विवाद बढ्दै जाँदा कांग्रेसकी एक नेतृले अरू तीन जना गुन्डाहरूलाई समेत लिएर आफ्नो अटो शोरुममा आएको र आफूलाई अपहरण गरेर लगेको बताए । उनका अनुसार कांग्रेसकी ती नेतृले आफू आरजु राणाको नजिकको व्यक्ति भएको र तँलाई सिद्ध्याइदिन्छु भन्नेसम्मको धम्की दिएको र तुलसालाई सपोर्ट गर्न धम्की दिएको बताए ।
तुलसाले आफूसँग पटकपटक पैसा माग्न थालेको र आफूले पैसा दिन नसक्ने बताएपछि तुलसासँग विवाद बढ्न थालेकै समयमा कांग्रेसकी ती नेतृ अटो शोरुममै आएर आफूलाई अपहरण गरी लगेको बताए । आफूलाई चार जनाको समूहले अपहरण गरी दुई जना अगाडि र दुई जना पछाडि बसी बिचमा राखेर अपहरण गरी सिध्याउनेसम्मको धम्की दिएको उनको आरोप छ ।
चिमोरियाले उनलाई अपहरण गरिएको समयको सिसिटिभी फुटेजसमेत लोकपथलाई उपलब्ध गराएका छन् ।

भएको के थियो ?

शंकर चिमोरिया र तुलसा अधिकारीको करिब ५ वर्षको आपसी सहमतिको सम्बन्धपछि उनीहरूबिच खटपट आएको थियो । २०७५ सालमा तुलसा र शंकर चिमोरिया नजिकिएका थिए । त्यसपछि उनीहरूबिच लेनदेन र आपसी सहमतिमै शारीरिक सम्बन्धसमेत भएपनि पछि सम्बन्धमा खटपट आएपछि तुलसाले ब्ल्याकमेल गरेको आरोप शंकरले लगाएका छन् । तुलसाले आफूसँग करिब ६ करोड रुपैयाँ लगेको शंकरको आरोप छ । सोही आरोपसहित शंकरले प्रहरीमा दिएको जाहेरीलाई लिएर अहिले आपराधिक लाभ र ठगीको कसुरमा अनुसन्धानसमेत भइरहेको छ ।

टिकटकर तुलसा अधिकारी ।

तुलसासँग विवाद बढ्दै गर्दा तुलसाले नै खटाएर एक कांग्रेस नेतृले आफूलाई अपहरण गरेको र तुलसाले भनेबमोजिम गर्न धम्की दिइएको शंकरले बताए । पछि सोही समूहले जबरजस्ती करणीको जाहेरी तयार पारी जाहेरी देखाउँदै ‘मिलाउन’ दबाब दिएको बताए ।

शंकरसँगको कुराकानीमा नेपाली कांग्रेसकी एक नेतृ आफ्नो अटो शो रुममै आएर आफूलाई अपहरण गरी लगेको उल्लेख गरेका छन् ।

चिमोरियालाई अपहरण गर्न पुगेकी कांग्रेस नेतृको सिसिटिभीमा कैद दृश्यको स्कृनसट ।

शंकरसँग गरिएको कुराकानीमा ती कांग्रेस नेतृ कसरी उनकोमा आइपुगिन् र के के गरिन् भनेर उल्लेख गरेका छन् ।

कुराकानीको सम्पादित अंश यस्तो छ :

शंकर : ….हँ हामी यो सबै सहँदै थियौँ । यहीबिचमा एक नेता आइपुग्नुभयो । मैले उहाँलाई सम्मान गरेर नाम लिइन, उहाँको सिसिटिभी फुटेज पनि छ । तीनजना जति केटा लिएर एक जना नेता आउनुभयो ।

लोकपथ संवाददाता : नेता कि नेतृ ?

शंकर : नेतृ आउनुभयो । अफिसमा मलगायत मेरा एक-दुईजना साथीभाइहरू पनि थिए । त्यो सिसिटिभी फुटेजमा पनि देखिन्छ । उहाँले सिधै आएर मेरो अफिसमा छिरेर तँ यता आइज भन्नुभयो । म फोनमा कुरा गरिरहेको थिएँ, सक्ड भएँ । मैले ‘किन होला’ भनेर भनेँ । ‘मलाई चिनिस्’ भनेर भन्नुभयो । ‘मैले चिन्या–चिन्या जस्तो लाग्छ’ भनेर भनेँ ।

उहाँले ‘म चाहिँ फलानो नाम ग¥यो म’ भनेर भन्नुभयो । ‘ए हजुर नमस्ते’ भनेँ र नमस्ते गरेँ उहाँलाई । ‘क्याबिन कहाँ छ ?’ भनेर सोध्नुभयो । ‘क्याबिन माथि छ’ भनेर भन्दा ‘ल हिँड् क्याबिनमा’ भने थर्काउँदै गरेपछि मलाई थाहा भयो कि उहाँ कुन नियतले आउनुभएको रहेछ भनेर ।

अनि त्यसपछाडि चाहिँ उहाँलाई मैले के आग्रह गरेँ भने ‘प्लिज हजुर यसो यहाँनेर नगरौँ, बरु अलि माथितिर गएर चाहिँ कुरा गरौँ न त’ भनेर उहाँलाई आग्रह गर्दाखेरिमा उहाँले यो भाग्छ होला’ भन्दै मलाई अन्य व्यक्तिहरुको बिचमा राखेर लैजानुभयो । मेरो अफिसबाट नजिकको युनिभर्सल क्याफेसम्म लैजान अगाडि दुईजना, पछाडि दुईजना र मलाई बीचमा हालेर उहाँहरूले लिएर जानुभयो ।

पीडित भनिएका परिवर्तित नाम शंकर चिमोरिया ।

त्यसपछि मलाई युनिभर्सल क्याफेको एक तल्लामाथि लगेर ‘तँलाई धुलो पिठो बनाउने हो, तँलाई अचार बनाउने हो, तैँले हामीलाई चिनेको छैनस्, हामी को हो भनेर थाहा छैन ?’ भन्दै कठालो समात्नुभयो ।

मैले ‘तपाईँहरूले मेरो कुरा सुन्नुस् न’ भनेर भन्दा मेरो कुरा नै नसुनी मेरो भिडियो रेकर्ड गर्न थाल्नुभयो । मैले आफूले भन्नुपर्ने कुराहरु केही भनेँ पनि । मैले ‘मेरो एक कुरो मात्रै गल्ती हो, यसमा मेरो मात्रै गल्ती छैन, उहाँको नि गल्ती छ । उहाँले नै पिछा नछोड्या हो, उहाँले नै मेरो पिछा नछोडेर मेरो पैसा कति गयो के गयो त्यो मलाई नै थाहा छ’ भन्ने कुराहरू गरेँ । उहाँले रेकर्ड सेकर्ड पनि गर्नुभयो होला, सायद केही गर्नुभयो होला त्यो मलाई चाहिँ अब मैले ज्ञान पाइनँ । उहाँलाई रेकर्ड चाहिँ नगर्न आग्रह गरेँ मैले, हैन ।

‘त्यहाँ मलाई उहाँहरुले धेरै नै थर्काएर तुलसालाई दुःख दिन पाउँदिनस्, तुलसाले भनेको मान् भनेर भने । उहाँहरुले मलाई धेरै थर्काउँदै ‘तँ आज बाँचिस्’ भनेर भन्नुभयो ।

लोकपथ संवाददाता : उहाँले थर्काउन चाहिँ के भनेर थर्काउनुभयो ? उहाँले तपाईँसँग पैसा माग्नुभयो वा के भन्नुभयो ?

शंकर : होइन, डाइरेक्ट पैसा नै त माग्नुभएन, कुरा बुझ्दाखेरि उहाँ उतातिरबाट परिचालित भएर आउनुभएको रहेछ ।

लोकपथ संवाददाता : तपाईँले उता जो जोलाई पैसा दिइरहनु भएको थियो, उनीहरूले नै पठाएको ?
शंकर : हो । अनि मलाई थर्काउने कामहरू भयो । ‘आज तँ बाँचिस्, भोलिको दिनमा तँलाई म सिद्ध्याइदिन्छु’ भनेर उहाँ निस्केर जानुभयो ।

लोकपथ संवाददाता : उहाँहरूले पैसा पनि माग्नुभयो कि धम्की मात्रै दिएर जानुभयो ?

शंकर : त्यतिबेला पैसा चाहिँ माग्नुभएन ।

लोकपथ संवाददाता: धम्की चाहिँ के भनेर ? तँलाई सिद्ध्याइदिन्छु भनेर नै दिए त ?

शंकर : अँ… ‘यसको पछाडि नलाग्, तँलाई चाहिँ हामीले जे पनि गर्छौँ’ भन्ने टाइपको ।

लोकपथ संवाददाता : उनीहरूले तुलसासँग पैसा नमाग्’ भनेर कि के भनेर धम्काए ?

शंकर : अँ त्यस्तै त्यस्तै कुराहरू गरे ।

लोकपथ संवाददाता : तपाईँले पैसा फिर्ता मागेपछि धम्काएको कि किन के भनेर धम्काएको ?

शंकर : अँ त्यस्तै टाइपको कुराहरू आयो । अब त्यस पछाडि मलाई अलिकति डर त्रास हुन थाल्यो ।

लोकपथ संवाददाता: भनेको त्यो कुरा उनीहरूले पुलिसमा नजा भन्नलाई पठाएको हो कि ?

शंकर : सायद त्यस्तै पनि हुन सक्छ । अब उनीहरूको योजना के थियो त्यो थाहा भएन । मेरो पैसा आउँदैन भनेर म चुप लागेर बस्दाखेरि पनि उहाँहरूलाई त्यो पनि पचेन । अझै केही झार्न सकिन्छ कि भन्ने उहाँहरूको योजना थियो । अनि त्यसपछाडि उहाँले तपाईँलाई रेपको केस पनि हाल्न सकिन्छ भन्नुभयो । मैले तपाईँहरूले जे जे हाल्न सक्नुहुन्छ हाल्नुस् भनेर भनेँ । त्यसपछि उहाँ हताश भएर निस्किनुभयो । हताशमै उहाँले म आएको भनेर फलानोलाई नभन्नु भनेर निस्कनुभयो ।

शंकरले आफूलाई कांग्रेस नेतृले कसरी धम्की दिइन् र के के गरिन् भनेर बताएपनि उनले ती कांग्रेस नेतृको नाम भने लिएनन् । यद्यपि लोकपथलाई प्राप्त एक सिसिटिभी फुटेजमा कांग्रेस नेतृ उनको अटो शोरुममा पुगेको स्पष्ट देखिन्छ ।

शंकरका अनुसार कांग्रेस नेतृले आफू आरजु राणाको खास व्यक्ति भएको भन्दै फोटो र भिडियोहरू हाल्ने र व्यक्तिहरूलाई धम्काउने गरेकी थिइन् ।

बलात्कारको जाहेरी लिएर अर्की युवतीलाई पठाइन् नेतृले

शंकरका अनुसार आफूले तुलसालाई थप रकम दिन नसक्ने र आफूले दिएको रकम फिर्ता पाउनुपर्ने दाबी राखी कानुनी उपचारमा जाने तयारी गरिरहेको कुरा बताएपछि तुलसा अधिकारी र ती कांग्रेस नेतृले बलात्कारको जाहेरी तयार पारेर दर्ता गराइदिने कि मिलापत्र गर्ने भनेर धम्काएका थिए ।

शंकरका अनुसार ती कांग्रेस नेतृकै घरमा बस्ने नेलिका लामिछाने नाम गरेकी युवतीले आफूलाई भेटेर बलात्कारको जाहेरी देखाएको र मेलमिलाप नगरे दर्ता गरेर फसाइदिने धम्की दिएकी थिइन् ।

उनले भने, ‘म नामै लिएर भन्छु, उनको नाम नेलिका लामिछाने हो । उनी त्यही कांग्रेस नेतृको घरमा बस्थिन् । पछि मैले तुलसाको लागि किनिदिएको अप्रिलाको स्कुटर चलाउन थालिन् । त्यो स्कुटर पनि अहिले प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।’

पीडित भनिएका परिवर्तित नाम शंकर चिमोरिया ।

शंकरका अनुसार नेलिका लामिछानेले तुलसा र कांग्रेस नेतृकै डिजाइनमा आफूलाई धम्काएको र पैसा दिन भनेका थिए ।
नेलिकाको बारेमा शंकरले गरेका कुराकानीको सम्पादित अंश यस्तो छ :

शंकर : अब मैले थप रकम दिन सक्दिन र आफूले दिएको रकम दाबी गरेपछि मलाई बलात्कारमा फसाउने भन्दै जाहेरी लिएर कांग्रेस नेतृकै घरमा बस्ने युवती आइन् । म उनको नामै लिएर भन्छु, उनको नाम नेलिका लामिछाने हो । उनी नै पछि मलाई धम्काउन र डिल गर्न आएकी थिइन् ।

लोपकथ संवाददाता : के भन्न आइन् ?

शंकर : तुलसाको विषयमा अब धेरै विवाद नगर्न र सम्झौता गर्न भनियो । सम्झौता गर्दा थप रकम दिन भनियो । सम्झौता नगरेमा बलात्कारको केस हालिदिने भन्दै जाहेरी पनि देखाइन् ।

लोकपथ संवाददाता : त्यो चाहिँ कहिलेको कुरा हो ?

शंकर : अँ लगभग ८ महिना अगाडिको कुरा हो । उहाँ पहिले त्यही अप्रिलाको स्कुटर लिएर आउनुभएको थियो, मेरो शो रुमकै बाहिर । उहाँले तीन पटक आएर मलाई मेरो विरुद्ध तयार पारिएको जाहेरी देखाउँदै मिल्न दबाब दिनुभयो ।

लोकपथ संवाददाता : उहाँले पनि पैसा नै माग्नुभयो कि के त ?

शंकर : उहाँले डाइरेक्ट पैसा माग्नुभएन । तर अब कसरी मिल्ने हो भन्नुहोस्, म मिलाइदिन्छु भन्नुभयो । मैले व्यापारका लागि भनेर मैले दिएको पैसा फिर्ता मागेँ । उहाँले त जाहेरी दर्ता नै भइसकेको भन्नुभयो । तर जाहेरी दर्ता भएको रहेनछ ।

लोकपथ संवाददाता : तपाईंलेचाहिँ के भन्नुभयो त ?

शंकर : मैले अब न रकम दिन सक्छु, न छोड्न सक्छु भनेर भने । तपाईँहरू जे गर्नु छ गर्नुहोस्, म कानुनी लडाई नै लडौँला भने ।

लोकपथ संवाददाता : त्यसपछि ?

शंकर : त्यसपछि उहाँले मैले त तपाईँकै भलोका लागि भनेको हो । अब नमिले मुद्दा नै झेल्नुहोस् भन्दै जान लाग्नुभयो । तर जाने बेलामा म यहाँ आएको कुरा दिदी (कांग्रेस नेतृ) र तुलसालाई नभन्नु भनेर जानु भयो ।

लोकपथ संवाददाता : अनि ?

शंकर : त्यसपछि पनि नेलिकाले मेरो श्रीमतीलाई फलो गर्न थालिन् । अब नेलिका नै थिइन् कि अरू कोही थियो म यसै भन्न सक्दिन, तर त्यही अप्रिला स्कुटर चढेर गएका मान्छेहरूले मेरो श्रीमतीलाई बाटो छेके । त्यसपछि मैले मेरो भतिजलाई पठाएर श्रीमतीको रेस्क्यु गरेँ । त्यसपछि नेलिका त्यहाँबाट भाग्नुभयो ।

लोकपथ संवाददाता : नेलिकाले नै हो त ?

शंकर : अँ स्कुटर नै त्यही हो । उहाँले चढाइराख्नु भएको थियो त्यो स्कुटर ।

लोकपथ संवाददाता : अहिले त त्यो स्कुटर प्रहरीको नियन्त्रणमा ल्याएको छ हैन र ?

शंकर : हो, अहिले प्रहरीसँग नै छ क्यारे ।

लोकपथ संवाददाता : कसको साथबाट नियन्त्रणमा लिएको हो र ? नेलिका कि अरूबाट ?

शंकर : नेलिकाकै साथबाट होला । उहाँले युज गर्नुभएको थियो । अनि त्यसपछाडि अब अति नै भयो नि त यो त । सहनै नसक्ने भयो । अनि कहिले त्यही कांग्रेस नेतृले मेरो श्रीमतीलाई फाने गरी धम्की दिने गर्नुभयो ।

लोकपथ संवाददाता : के भन्नुहुन्थ्यो उहाँले चाहिँ ?

शंकर : मेरो मिसेसलाई फोन गरेर तथानाम गाली गर्नुभएछ । अनि मेरो मिसेसले पनि ‘तपाईँ अगाडि आउनुस्, तपाईँ र म बसेर डिबेट गरौँ न’ भनेर भन्नुभएछ । अनि त्यसरी यो केस पछाडि पनि धेरै नै चोटि फलो भएको, पिछा गरेको र सोसल मिडियाहरूमा रुवाबासी गराएको छ, मेरी श्रीमतीमाथि तथानाम भनिएको छ । त्यसपछि म बाध्य भएर आपराधिक लाभ र ठगीको जाहेरी लिएर जानुपरेको हो ।

शंकरका अनुसार कांग्रेसकी ती नेतृले आफूलाई अपहरण गरी फिरौती लिने शैलीमा मेलमिलाप गर्न दबाब दिएको, आफ्नो श्रीमतीलाई समेत फोन गरेर धम्काएको र तुलसाको आपराधिक काममा उनको समेत संलग्नता भएको आरोप लगाएका छन् ।

(यो समाचार पीडित भनिएका परिवर्तित नाम शंकर चिमोरियासँग गरिएको कुराकानी र उनले दिएको जाहेरीका आधारमा तयार पारिएको हो । यस सम्बन्धमा तुलसासँग कुराकानी हुँदा उनले अहिले समाचारमा नआउने र बोल्नु पर्ने कुराहरू अदालतमै बोल्ने बताइन् । यद्यपि चिमोरियाले भनेका कुराहरूमा केही सत्य, केही अर्ध सत्य र केही शतप्रतिशत झुट भएको बताएकी छिन् ।)

यसअघि प्रकाशित यो पनि…

टिकटक स्टार तुलसाको हनीट्र्याप जालो : अन्तरंग फोटो र भिडियो देखाएर गर्थिन् ब्ल्याकमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?