नवलपरासी जिल्ला सभापति ठकुरीले नै छाडे रास्वपा, नेपाली कांग्रेसमा प्रवेश

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने नेता÷कार्यकर्ताको लहर नै चलिरहेको बेला नवलपरासी जिल्लाका रास्वपा सभापति महेन्द्रसिंह ठकुरी पनि सो पार्टीबाट अलग भएका छन् । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा आज बिहीबार रास्वपा छाडेका उनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नवलपरासी बर्दस्थित चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई खादामालाले स्वागत गरेका छन् । 

यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी परित्याग गरेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की–१ बाट रास्वपाबाट उम्मेदवार बनी तेस्रो बनेका राईले ‘राजनीति सोझो र इमानदारले गर्ने काम नभएको’ निष्कर्ष निकाल्दै आज सामाजिक सञ्जालबाट पार्टी छाडेका घोषणा गरेका हुन् ।

राईले फेसबुकमा लेखेका छन्, ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजबाट राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छुइन, स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु !’

उनले दुई दिनअघि पनि रास्वपा छाड्ने संकेतसहितको स्ट्याटस लेखेका थिए । उनले ‘नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु भएको’ भन्दै फेसबुक स्ट्याटस लेखेका थिए ।

२०७९ सालको निर्वाचनमा एमालेका मनबहादुर गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर विजयी हुँदा कांग्रेसका किशोरदत्त बरालले २३ हजार १ सय ८९ मतसहित दोस्रो र राई १० हजार ९ सय ४१ मतसहित तेस्रो बनेका थिए । 

त्यसबेला सानदार मत ल्याएका राईलाई टिकट नदिएर रास्वपाले स्थानीय तह निर्वाचनमा अटेरी अभियान चलाउँदै लौरो चिह्न लिएर पोखराको मेयर उठेका खडकराज पौडेललाई उम्मेदवार बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?