काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
उनले बिहीबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी अभियानलाई सम्बोधन गर्दै फेसबुक, टिकटक र रिल्सजस्ता सामग्रीको प्रभावमा नपर्न आग्रह गरे ।
विशेष गरी युवापुस्तालाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमा देखिने प्रचारभन्दा वास्तविक धरातललाई हेरेर निर्णय लिनुपर्ने बताए । ‘लहैलहैमा फेसबुक, टिकटक र रिल्स हेरेर भोट दिएर आफ्नो भविष्य बिगार्ने काम नगर्नुस्, ‘उनले भने ।
उनले यस पटकको निर्वाचन केवल एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभई देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको उल्लेख गरे । देशको अस्तित्व नै संकटमा परेको दाबी गर्दै उनले ‘नेपाल प्रथम, नेपाली प्रथम’ भन्ने सोचलाई केन्द्रमा राखेर मतदान गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष लिङ्देनले विगतमा असफल र स्पष्ट दृष्टिकोण नभएका दललाई पुनः मत दिएर गल्ती दोहोर्याउने वा नगर्ने निर्णय मतदाताकै हातमा रहेको बताए । शान्ति, विकास र स्थिरताका लागि राप्रपा नै एक मात्र विकल्प भएको दाबी गर्दै उनले नयाँ–पुराना सबै राजनीतिक शक्तिलाई समन्वय गरेर अघि बढाउने क्षमता राप्रपामा रहेको उल्लेख गरे ।
नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट बाहिर जान थालेको भन्दै उनले त्यसलाई रोक्न आगामी संसदमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए ।
वैदेशिक हस्तक्षेप र विदेशी चलखेलप्रति काठमाडौंवासी सचेत रहेको दाबी गर्दै उनले देश जोगाउन तथा काठमाडौं–२ सहित देशभर विकासका लागि राप्रपाका उम्मेदवारलाई विजयी गराउन आह्वान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया