समानुपातिक सांसदलाई कमजोर ठान्ने सोच गलत छ : उपाध्यक्ष घिमिरे

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले प्रत्यक्षतर्फ भन्दा समानुपातिक सांसदलाई कमजोर ठान्ने सोच गलत भएको बताएकी छन् ।

बुधवार आफ्नै कार्यकक्ष सिंहदरवारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् ।

साथै निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिने अवस्था नरहेको उनको तर्क थियो । उनले विद्यमान निर्वाचन प्रणालीका कारण निर्वाचनमा महिलाहरुको उम्मेदवारीमा कमी हुन गएको धारणा राखिन् ।

उनले विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउने अवस्था नआएको तर्क गरिन् । उपाध्यक्ष घिमिरेले प्रत्यक्षतर्फको निर्वाचनमा लडनका लागि पार्टीले आफूलाई भनेको भएपनि खर्च धेरै हुने भएकाले आफूले उम्मेदवारी दिने आँट गर्न नसकेको उल्लेख गरिन् । उनले प्रत्यक्षतर्फ भन्दा समानुपातिक तर्फका सांसदलाई कमजोर ठान्ने सोच नै गलत भएको बताइन् । देशभरका मतदाताहरुले समानुपातिक सांसदलाई निर्वाचित गराउने भएकाले उनीहरुलाई प्रत्यक्षतर्फको सांसदभन्दा कमजोर ठान्न नमिल्ने उपाध्यक्ष घिमिरेको भनाई थियो ।

उनले भनिन्, ‘अहिलेकै निर्वाचनमा भन्ने हो भने पनि यहाँबाट राजीनामा दिएर तपाई चुनाव लडन जानुस् भन्नेकुरा पनि मलाई कतैबाट आएको थियो । तर म जान सकिन । त्यो भनेको महिला सहभागिता बढाउनका लागि गरिएको भन्ने मलाई लाग्छ । अब एउटा तयारीको कुरा पनि हुन्छ । अर्को खर्चपर्चको कुरा छ । मलाई लाग्छ– निर्वाचन प्रणाली परिर्वतन नहुनुजेलसम्म महिला सहभागिता प्रत्यक्षतर्फ यस्तै हुन्छ । त्यही भएर समानुपातिक राखिएको हो । यसलाई पनि गलत अर्थमा बुझियो ।’

उपाध्यक्ष घिमिरेले एक पटक समानुपातिकतर्फबाट सांसद भइसकेकाहरुलाई फेरि सोहीतर्फको उम्मेदवारी बनाउने काम गर्न नहुने धारणा समेत राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?