काठमाडौं । एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको रसुवाबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका मोहन आचार्यले फागुन २१ को निर्वाचनका लागि घोषणापत्र (प्रतिज्ञापत्र) सार्वजनिक गरेका छन् ।
आचार्यले बुधबार ‘समुन्नत रसुवाको आधार : शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार’ नारासहितको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
कुशल ईन्जिनियर समेत रहेका आचार्यले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रहरुमा आगामी ५ वर्ष आफूले गर्ने कामको खाका तयार पारेका छन् ।
शिक्षा क्षेत्रको विकासका लागि रसुवाका युवाहरुलाई जलविद्युत र पर्यटन क्षेत्रमा दक्ष बनाउनका लागि ‘बहु प्राविधिक शिक्षालय’ स्थापनाका लागि पहल गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् । प्रत्येक गाउँपालिकामा कम्तीमा एउटा नमुना विद्यालयको विकास गर्ने र जहाँ आधुनिक प्रयोगशाला र पुस्तकालयको व्यवस्था गर्ने समेत उनले बताएका छन् ।
भौगोलिक रुपमा विकट क्षेत्रहरु समेत रहेको रसुवामा आम नागरिकहरुलाई स्वास्थ्यको राम्रो पहुँच पुर्याउन जिल्ला अस्पताल धुन्चेलाई स्तरोन्नती गरी विशेषज्ञ चिकित्सक र आधुनिक आईसीयू सेवा सुनिश्चित गर्ने घोषणा गरेका छन् । दुर्गम क्षेत्रका नागरिकलाई काठमाडौंका विशेषज्ञसँग जोड्न टेलि मेडिसिन सेवा प्रभावकारी बनाउने समेत उनको योजना रहेको छ ।

आफैँ ईन्जिनियर समेत रहेका आचार्यले पूर्वाधार विकासमा जोड दिएका छन् । साथै चीनसँग सीमा जोडिएको र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सुक्खा बन्दरगाहको व्यवस्थापन गर्ने समेत उनको योजना रहेको छ ।
‘सडक स्तरोन्नति ः प्रत्येक ग्रामीण सडकलाई राष्ट्रिय राजमार्गमा पहुँच सुनिश्चित गरी बाह्रै महिना चल्ने गरी प्राथमिकताका आधारमा कालोपत्रे र दुई लेनको बनाउन प्राथमिकता दिने,’ घोषणापत्रमा भनिएको छ, ‘रसुवागढी नाका व्यवस्थापन : अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को शीघ्र व्यवस्थापन तथा नदिका जोखिम व्यवस्थापनमा तटबन्धलाई प्राथमिकता र एकीकृत भन्सार जाँच चौकीको आधुनिकीकरणका लागि सम्बन्धित पक्षसँग समन्वय गर्ने ।’
पर्यटकीय हिसावले महत्वपूर्ण रहेको रसुवामा पर्यटन विकासका लागि आचार्यले विभिन्न योजनाहरु अघि सारेका छन् ।
जसअनुसार आचार्यले अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित मानिएको लाङटाङमा पर्वतारोहण प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना अघि सारेका छन् । यता हिन्दूहरुको पवित्र धार्मिकस्थल एवं पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण रहेको गोसाइकुण्ड पदमार्गको विकासका लागि जोड दिएका छन् ।
‘गोसाईंकुण्ड धार्मिक सर्किटः गोसाईंकुण्ड जाने पदमार्गलाई व्यवस्थित गर्ने, धर्मशालाहरूको निर्माण र प्राथमिक तथा ईमेरजेन्सी उपचार क्याम्प र सुरक्षा पोस्टहरूको व्यवस्था गर्ने,’ घोषणापत्रमा भनिएको छ ।
त्यसैगरी उनले तामाङ हेरिटेज ट्रेल निर्माण, लाङटाङ पदयात्रा, सांस्कृतिक संग्रहालय र नौकुण्डको लारच्याङटारलाई स्पोट्र्स टुरिजमको हबका रुपमा विकास गर्ने समेतका उनको योजना रहेको छ ।
जलविद्युत उत्पादनका लागि महत्वपूर्ण मानिएको रसुवाका स्थानीयहरुलाई जलविद्युत आयोजनाहरुमा स्थानीयको प्रत्यक्ष लाभ सुनिश्चित गर्ने योजना अघि सारिएको छ ।
त्यस्तै पार्टी केन्द्रले अघि सारेको भिजन टेनलाई प्राथमिकताका साथ काम गर्ने योजना रहेको बताए ।
यस्तो छ घोषणापत्र :
सुशासन र सम्मुन्नतीको लागि vis10n photo
सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस
मुख्य नारा : “समुन्नत रसुवाको आधार : शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार”
आदरणिय रसुवाबासी आमाबुबा , दाजुभाई तथा दिदिबहिनीहरु
हार्दिक जय नेपाल
नेपाली कांग्रेस जनता जनार्दनको बलमा कोही पनि भोकै, नाङ्गै वा अशिक्षित नरहने, जीवनलाई सुखी बनाउने कुनै कुराको अभाव नभएको व्यवस्था ल्याउने महान ध्येय बोकेर स्थापना भएको पार्टी हो। युग परिवर्तन भए पनि जनतालाई सम्पन्न र सम्मानित बनाउने संघर्षकालीन इतिहासको त्यही लक्ष्य नै हाम्रो मूल प्रेरणा हो। परिवर्तित समयको चेतनालाई आत्मसात गरेर नयाँ सोच र युवा ऊर्जा सहित परिमार्जित भएको नेपाली कांग्रेस विचारमा प्रष्ट र कार्यशैलीमा चुस्त बनेको छ। विगतका थुप्रै ऐतिहासिक उपलब्धिमा गर्व गर्दै र समस्त कमी कमजोरीको अनुभवबाट पाठ सिक्दै हामी देशको अवस्था बदल्ने र देशलाई सम्हाल्ने दृढ प्रतिज्ञाका साथ तपाईंको घरदैलोमा आएका छौँ।
आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिको एकमात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनु हुनेछ। यसका निम्ति नेपाली कांग्रेसले हाम्रो परिकल्पनाको नेपाल कस्तो हुन्छ भनेर प्रतिज्ञापत्र मार्फत भिजन टेन मा लिपिबद्ध गरेका छौँ। साथै हामीले हाम्रो रसुवालाई समुन्नत रसुवाको आधार : शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर गर्न सकिने कामहरु यहाँमाझ पस्केका छौँ ।
१. शिक्षा : गुणस्तरीय र प्रविधिमैत्री
- प्राविधिक शिक्षामा जोड : रसुवाका युवाहरूलाई जलविद्युत र पर्यटन क्षेत्रमा दक्ष बनाउन जिल्लामै ‘बहु प्राविधिक शिक्षालय’ को स्थापना गर्न पहल गर्ने ।
- नमुना विद्यालय : प्रत्येक गाउँपालिकामा कम्तीमा एक नमुना विद्यालयको विकास, जहाँ आधुनिक प्रयोगशाला र पुस्तकालयको व्यवस्था हुनेछ ।
- छात्रवृत्ति कार्यक्रम : दुर्गम र पिछडिएका (विशेष गरी तामाङ, दलित र सीमान्तकृत) समुदायका जेहेन्दार विद्यार्थीका लागि ‘उच्च शिक्षा छात्रवृत्ति कोष’ को स्थापना गर्ने ।
- डिजिटल साक्षरता : सबै सरकारी विद्यालयमा उच्च गतिको इन्टरनेट र डिजिटल शिक्षण पद्धतिको सुरुवात गर्ने ।
२. स्वास्थ्य: सुलभ र विशेषज्ञ सेवा
- सुविधा सम्पन्न जिल्ला अस्पताल : धुन्चेस्थित जिल्ला अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ चिकित्सक (Specialist Doctors) र आधुनिक आईसीयू (ICU) सेवा सुनिश्चित गर्ने ।
- गाउँ-गाउँमा स्वास्थ्य : प्रत्येक वडा स्वास्थ्य केन्द्रमा आधारभूत प्रयोगशाला र सुरक्षित मातृत्व (Birthing Center) सेवाको ग्यारेन्टी सुनिश्चित गर्ने ।
- टेलि-मेडिसिन: दुर्गम भेगका नागरिकलाई काठमाडौँका विशेषज्ञसँग जोड्न ‘टेलि-मेडिसिन’ सेवा प्रभावकारी बनाउने ।
- एम्बुलेन्स सञ्जाल : भौगोलिक विकटतालाई ध्यान दिँदै सबै स्थानीय तहमा सडक र हवाई (Emerency Heli-rescue) उद्धारको समन्वयकारी संयन्त्र विस्तार गर्ने ।
- स्वास्थ्य बीमा : बीमा ऐनलाई व्यवस्थापिकाद्वारा संशोधन गराई नागरिकलाई सरकारको उपस्थिति अनुभूति गराउने गरी सबै गाउँ तथा स्थानीय तहमा स्वास्थ्य बीमाको कार्यक्रमलाई दिगो, अनिवार्य र सबै को पहुँच योग्य बनाउने ।
- स्वास्थ्य शिक्षा : बालबालिका तथा गर्भवतीको पोषण शिक्षा, दीर्घ रोग, प्राणघातक रोग, सरुवा रोग जस्ता स्वास्थ्य समस्याको न्यूनीकरणका लागि प्रत्येक स्थानीय तहमा मासिक स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने ।
३. पूर्वाधार विकास : दिगो र सुरक्षित
- सडक स्तरोन्नति : प्रत्येक ग्रामीण सडकलाई राष्ट्रिय राजमार्गमा पहुँच सुनिश्चित गरी बाह्रै महिना चल्ने गरी प्राथमिकताका आधारमा कालोपत्रे र दुई लेनको बनाउन प्राथमिकता दिने ।
- रसुवागढी नाका व्यवस्थापन : अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सुक्खा बन्दरगाह (Dry Port) को शीघ्र व्यवस्थापन तथा नदिका जोखिम व्यवस्थापनमा तटबन्ध लाई प्राथमिकता र एकीकृत भन्सार जाँच चौकीको आधुनिकीकरणका लागि सम्बन्धित पक्षसँग समन्वय गर्ने ।
- स्वच्छ खानेपानी : ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिँदै सबै बस्तीमा नियमित सुरक्षित खानेपानी पुर्याउन नौकुण्ड खानेपानी आयोजनाको गुरुयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने ।
- सिचाइ : पानीको निरन्तर स्रोतको पहिचान गरी व्यवस्थित कुलो, पोखरी, ट्याङ्कीको व्यवस्थापनको माध्यम द्वारा खेतीयोग्य भूमिमा बाह्रै महिना सिचाइको अभाव हुन नदिने गरी आवश्यक प्रबन्ध मिलाउने ।
४. पर्यटन प्रवर्द्धन: रसुवाको पहिचान
- लाङटाङमा पर्वतारोहण प्रशिक्षण केन्द्र स्थापना गर्ने
- गोसाईंकुण्ड धार्मिक सर्किट: गोसाईंकुण्ड जाने पदमार्गलाई व्यवस्थित गर्ने, धर्मशालाहरूको निर्माण र प्राथमिक तथा ईमेरजेन्सी उपचार क्याम्प र सुरक्षा पोस्टहरूको व्यवस्था गर्ने ।
- तामाङ हेरिटेज ट्रेल : तामाङ कला, संस्कृति र जीवनशैली झल्कने ‘होमस्टे’ (Homestay) लाई प्रवर्द्धन गरी ग्रामीण पर्यटनबाट स्थानीयको आयआर्जन बढाउने ।
- लाङटाङ पदयात्रा : विश्वप्रसिद्ध लाङटाङ पदमार्गलाई अझ सुरक्षित र सुविधा सम्पन्न बनाउँदै नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान गर्ने ।
- साञ्जेन उपत्यकालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पदमार्गको निर्माण गर्ने ।
- सांस्कृतिक संग्रहालय : रसुवाको ऐतिहासिक र सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि एक आधुनिक संग्रहालय निर्माण गर्ने ।
- नौकुण्ड लारच्याङटारलाई sports tourism को हबको रुपमा बिकास गर्दै लैजान पूर्वाधार निर्माणमा जोड दिने
५. अन्य प्राथमिकताहरू
- जलविद्युत : रसुवामा रहेका जलविद्युत आयोजनाहरूमा स्थानीयको प्रत्यक्ष लाभ सुनिश्चित गर्ने ।
- कृषि र जडीबुटी : हिमाली जडीबुटी र स्थानीय उत्पादन (आलु, स्याउ, चौंरी पालन, अलैंची) को प्रशोधन केन्द्र स्थापना तथा लोपोन्मुख ग्रामीण खाद्य बाली संरक्षण गरी उत्पादनलाई बजारीकरण गर्न संयन्त्र बिस्तार गर्ने ।
- कृषिमा आधुनिकीकरण : बेमौसमी तरकारी खेतीका लागि विउविजन को व्यवस्थापन तथा दक्ष प्राविधिक द्वारा प्रशिक्षण प्रदान गर्ने, भूगोल सुहाउँदो यान्त्रिक औजार अनुदानमा उपलब्ध हुने गरी सम्बन्धित पक्षसँग सहकार्य गर्ने तथा पशुपालन र बजारीकरण लाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने ।
- भ्रष्टाचारमुक्त प्रशासन : जिल्लाका सबै सरकारी सेवालाई छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै सुशासन कायम गर्ने ।
युवा लक्षित मेरो सोच
१: पर्यटन र स्थानीय अर्थतन्त्र
- पदयात्रा (Trekking) र होमस्टेलाई व्यवस्थित गरी ग्रामीण भेगमा रोजगारीका अवसर सिर्जना गर्ने ।
- स्थानीय हस्तकला र उत्पादनका लागि ‘कोसेली घर’ स्थापना गरी बजारको व्यवस्था गर्ने ।
२: आधुनिक कृषि र युवा किसान
- हाते ट्रयाक्टर र आधुनिक उपकरणमा अनुदान दिई कृषि कार्यलाई सहज बनाउने ।
- तरकारी, फलफूल र मौरी पालन जस्ता उच्च मूल्यका बालीहरूको व्यावसायिक उत्पादन ।
- जैविक (Organic) उत्पादनको ब्रान्डिङ र प्याकेजिङ गरी सिधै उपभोक्तासम्म पुर्याउने ।
३: सीमा क्षेत्रमा व्यापार
- नाकाको स्तरोन्नति र ‘ट्रान्स-हिमालयन लजिस्टिक’ हबहरूको स्थापना ।
- स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन व्यवस्थित ढुवानी प्रणाली ।
- भन्सार र सीमा प्रशासनलाई प्रविधिमैत्री बनाउँदै व्यापार सहजीकरण ।
४: युवा उद्यमशीलता र स्टार्टअप
स्थानीय उत्पादनको अनलाइन मार्केटिङ र ई-कमर्सलाई प्रोत्साहन ।
Youth-Oriented Fund: युवाहरूका लागि बिना धितो सहुलियतपूर्ण ऋण र बीउ पुँजी (Seed Money) को व्यवस्था ।
- ग्रामीण क्षेत्रमै डिजिटल वर्क स्टेसन र सूचना प्रविधिको विकास ।
“ बदलियो काँग्रेस : सम्हाल्छौ परिवेश, बदल्छौँ देश”, यो महाअभियानमा तपाई सम्पूर्ण रसुवाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, साथी तथा शुभ चिन्तकलाई हामीसँग जुट्न आव्हान गर्दछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया