सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो : एमाले

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेले निर्वाचन हुनुभन्दा नौ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कफ्र्यू जारी गरेर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले शान्ति–सुरक्षाको नाममा जारी निषेधाज्ञा र कफ्र्यू सुरक्षा व्यवस्थापनको कमजोरी भएको दाबी गरे । उनका अनुसार यसले मतदाताको मनोबल कमजोर पार्दै स्वतन्त्र रूपमा मतदान गर्ने अधिकार कुण्ठित गरिरहेको छ ।

शाहीले विशेषगरी मधेस तराईका विभिन्न जिल्लामा लगाइएको कफ्र्यूका कारण सर्वसाधारण मतदाता मतदान केन्द्रसम्म पुग्न अवरोध हुने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरे । उनले सरकारको वर्तमान रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउनुका साथै लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रश्न उठाएको आरोप लगाए ।

समाजमा निर्वाचन सार्ने भ्रामक हल्ला फैलाइएकोप्रति ध्यानाकर्षण गराउँदै एमालेले घोषित मितिमै चुनाव हुनुपर्ने अडान दोहोर्‍याएको छ । पार्टीले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा स्थापित गरिसकेको दाबी गर्दै ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ को नारासहित निर्वाचनमा जाने तयारी गरेको जनाएको छ ।

प्रतिनिधि सभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान राख्दै एमालेले सर्वोच्च अदालत को निर्णय प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको छ ।

त्यसैगरी, महान्यायाधिवक्ताको कार्यालय ले ‘जेनजी’ उपद्रवमा संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णय गरेको आरोप लगाउँदै एमालेले यसले दण्डहीनता मौलाउने वातावरण सिर्जना गरेको दाबी गरेको छ ।

निर्वाचनको संवेदनशील घडीमा केही सञ्चारमाध्यमले एकपक्षीय मत सर्वेक्षण सार्वजनिक गरेर जनमत प्रभावित पार्न खोजेको भन्दै एमालेले आपत्ति जनाएको छ । यस्ता प्रायोजित तथ्याङ्कले निर्वाचन आचारसंहिता उल्लंघन गर्नुका साथै पत्रकारिताको विश्वसनीयता कमजोर बनाउने शाहीको भनाइ छ ।

एमालेले राजनीतिक ध्रुवीकरण बढाउने गतिविधि रोक्न र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै पक्षलाई जिम्मेवार हुन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?