सशस्त्रका २३ एसएसपीहरू निर्वाचन अनुगमनमा : को कहाँ खटिए ?

लोकपथ
595
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरू सोमबारदेखि निर्वाचन अनुगमनमा खटिएका छन् । काठमाडौं उपत्यकाबाट ११ जना र प्रदेशमा रहेका विभिन्न कार्यालयबाट १२ जना गरी २३ जना एसएसपी निर्वाचन अनुगमनका लागि विभिन्न जिल्लामा खटिएका हुन् । 

देशका ७७ वटै जिल्लामा अनुगमनमा गएका एसएसपीले फिल्ड र मुख्यालयबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने जनाइएको छ । उनीहरू हरेक जनासँग पाँच/पाँच जना खटाइएको छ । केहीलाई तीन र केहीलाई चार जिल्लाको अनुगमनको जिम्मेवारी दिइएको छ । 

लोकपथलाई प्राप्त विवरणअनुसार, सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभाग दरबन्दी भएका एसएसपी समिक महर्जनलाई कोशी प्रदेशअन्तर्गतको सुगम तीन जिल्ला झापा, मोरङ र सुनसरीको निर्वाचन अनुगमनका लागि खटाइएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका विश्वास पात्र, लगातार दुईपटक प्रधान कार्यालयको प्रत्यक्षमातहतको कार्यदलको गणपति र एसएसपीमा एकल बढुवा भएका महर्जनलाई यी तीन वटा जिल्लाको अनुगमनका लागि खटाइएको हो । 

यसैगरी, पाथीभरा जवान तालिम शिक्षालय झापाका समादेशक एसएसपी रमेशकुमार पाण्डेलाई कोशी प्रदेशकै विकट तीन जिल्ला पाँचथर, ताप्लेजुङ र तेह्रथुम र नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सुधिरजंग थापालाई कोशी प्रदेशकै चार जिल्ला धनकुटा, भोजपुर, खोटाङ र संखुवासभामा अनुगमनका लागि खटाइएको छ । 

यस्तै, दन्तकाली विशेष तालिम शिक्षालय सप्तरीका समादेशक एसएसपी तेजप्रसाद पोखरेललाई सप्तरीसहित उनकै कार्यालय नजिकैको दुई जिल्ला सिराहा र उदयपुर, प्रधान कार्यालय मानवस्रोत विभागका एसएसपी भुपेन्द्र केसीलाई सोलुखुम्बु, ओखलढुंगा, रामेछाप र दोलखा, मानवस्रोत विभागकै प्रकाश थापालाई काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाको अनुगमनका लागि खटाइएको छ । 

नम्बर २ छिन्नमस्ता बाहिनीका सहायक बाहिनीपति अशोककुमार बमलाई उनी कार्यरत बाहिनीमातहतकै धनुषा, महोत्तरी र सर्लाही, राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थका कार्यरत नरेन्द्र सेनलाई रौतहट, बारा र पर्सा तथा विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका समादेशक भरत खनियाँलाई उनी कार्यरत शिक्षालय छेउछाउकै जिल्लाहरू मकवानपुर, चितवन र पूर्वी नवलपरासीमा खटाइएको छ । 

यस्तै, प्रधान कार्यालय कार्यविभागमा कार्यरत एसएसपी प्रविण कँडेललाई काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर, यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनीका समादेशक किरण ढुंगानालाई धादिङ नुवाकोट र रसुवा तथा नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीका सहायक बाहिनीपति टोपबहादुर खनाललाई गोरखा, लमजुङ, मनाङ र तनहुँमा अनुगमनका लागि खटाइएको छ । 

यसैगरी सशस्त्र प्रहरी बल प्रधान कार्यालय कानुन निर्देशनालयका एसएसपी युवराज अर्याललाई कास्की, स्याङ्जा र पर्वत, हुलदंगा व्यवस्थापन तालिम शिक्षालयका एसएसपी उद्धवबहादुर न्यौपानेलाई बाग्लुङ, म्याग्दी, मुस्ताङ र पूर्वी रुकुम, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटका समादेशक तीर्थराज पौडेललाई पाल्पा, नवलपरासी पश्चिम र रुपन्देही तथा खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक कमलप्रसाद तिउसिनालाई कपिलवस्तु, अर्घाखाँची र गुल्मीमा अनुगमनका लागि खटाइएको छ । 

नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति वीरेन्द्रबहादुर ऐर दाङ, प्युठान र रोल्पाको निर्वाचन अनुगमनका लागि खटिँदा जवान तालिम शिक्षालय नौवस्ता बाँकेका समादेशक नरेन्द्र बम बाँके, सुर्खेत र सल्यान तथा प्रधान कार्यालय मानवस्रोत विभागमा कार्यरत शंकर खनाल जाजरकोट, पश्चिम रुकुम र डोल्पामा खटिएका छन् । 

यसैगरी, प्रधान कार्यालय भण्डार महाशाखामा कार्यरत एसएसपी माधवप्रसाद पौडेल कालिकोट, जुम्ला, मुगु र हुम्ला, सीमा सुरक्षा विभागका रविनराज कर्णजीत दैलेख, अछाम, बाजुरा र डोटी, बडिमालिका जवान तालिम शिक्षालय कैलालीका समादेशक सूर्यबहादुर सेन वली बर्दिया, कैलाली र कञ्चनपुर तथा राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरका समादेशक नीरकृष्ण अधिकारी बझाङ, डडेलधुरा, बैतडी र दार्चुलाको निर्वाचन अनुगमनका लागि खटिएका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका एसएसपीहरूलाई आइतबार भर्चुअल माध्यमबाट  विशेष निर्देशन दिएका थिए । निर्देशनका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निर्वाचनको समयअगावै, निर्वाचनको समय र निर्वाचनपश्चातको समयमा आउनसक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका थिए । 

महानिरीक्षक अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरू आइपर्न सक्ने भन्दै सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरू र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न पनि निर्देशन दिएका थिए । उनले निर्वाचनको समयमा सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कमान्डरहरूसँग समन्वय, सबै उम्मेदवारहरूसँग सम्पर्कमा रहन तथा फिल्डमा भएका कमीकमजोरी र तत्काल गर्नुपर्ने कामबारे जतिसक्दो छिटो मुख्यालयमा जानकारी गराउनुका साथै निर्वाचन प्रहरीहरूलाई सभ्य र नम्र व्यवहार गर्न तथा उनीहरूको सेवा सुविधामा कुनै पनि प्रकारको गुनासो नआउने गरी कार्य गर्न समेत निर्देशन दिएका थिए । 

सीमा क्षेत्रको अनुगमन, निर्वाचनको समयमा बल प्रयोग गर्नु परेमा मानवअधिकारको संरक्षण र पूर्ण पालना गर्दै बल प्रयोगको समयमा आवश्यक प्रमाण राख्नसमेत निर्देशन दिएका थिए । निर्वाचन बिथोल्न खोज्नेहरूको पहिचान गरी सोही अनुसारको रणनीति बनाउन र कानुनअनुसारको बल प्रयोग गर्न मातहत सबै तहका कमान्डरहरूलाई स्पष्ट हुन समेत महानिरीक्षक अर्यालले निर्देशन दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?