‘ईजी मनी’ खोज्नेहरू मलाई हटाउन अदालतसम्म पुगे : सीडीएससी प्रमुख पन्दाक

लोकपथ
98
Shares

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का कार्यकारी प्रमुख प्रविन पन्दाकले ईजी मनी खोज्नेहरू आफूहरूलाई हटाउन हरतरहले लागिपरेको आरोप लगाइन् । सोमबार एक कार्यक्रमको आयोजना गर्दै पन्दाकले धितो पत्रको सुरक्षा गर्न खोज्दा केही समूह आफूलाई हटाउन लागिपरेको बताएकी हुन् ।

सोमबार ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ का विषयमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा पन्दाकले निर्देशिकाबारे भ्रम छरिएको र यथार्थ फरक रहेको बताइन् । साथै दोहोरो आईजीनबारे सार्वजनिक रूपमा जानकारी नदिन आफूलाई दबाब दिइएको समेत उनले आरोप लगाइन् ।

सीडीएससीले करिब ७ महिना पहिले ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ तयार पारी स्वीकृतिका धितोपत्र बोर्डमा पठाएको थियो । उक्त निर्देशिकामा मुख्यतः सुरुवाती चरणमा सर्वसाधारण समूह र संस्थापक समूहका सेयरलाई फरक फरक आईजीन प्रदान गर्ने विषय रहेको थियो ।

निर्देशिकामा सर्वसाधारण लगानीकर्तालाई थाहा नै नदिई रातको १२ बजेबाट लकिङ अवधि सकिएपछि सोझै सर्वसाधारण समूहमा रूपान्तरण हुने नभई संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिमार्जन गर्न साधारण सभाबाट पास गरेर आउनुपर्ने र सो बारे दैनिक पत्रिकामार्फत सर्वसाधारण लगानीकर्तालाई जानकारी दिनुपर्ने उल्लेख छ ।

निर्देशिकाको उद्देश्य संस्थापक लगानीकर्ताले आईपीओको व्यापार गरेर आईपीओ बेचेर नाफा कमाउने वा भाग्ने भन्दा पनि सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षित रहने गरी नाफा कमाएर त्यसैबाट मुनाफा बाँड्नुपर्ने कुरा उल्लेख छ ।

तर दोहोरो आईजीनको व्यवस्था लागू भएमा आईपीओको व्यापार गर्ने समूहले अन्तिम समयमा प्रतिकित्ता एक सय रुपैयाँ लगानी गरेर त्यसको तीन वर्ष पछि नै दसौँ गुणा बढी पैसा लिएर निस्कने विकृति बढेको भन्दै त्यसलाई निरूपण गर्न खोजिएको थियो । सीडीएससीको सो निर्देशिकाले आईपीओको व्यापार गर्ने केही व्यक्ति र समूहलाई असर गर्ने भएपछि ती व्यक्ति र समूहले सो निर्देशिका कार्यान्वयनमा आउन नदिएको पन्दाकले आरोप लगाइन् ।

पन्दाकले भनिन्, ‘यो निर्देशिका तपाईँहरू समक्ष नदेखाइयोस् भनेर दबाब दिइयो । निर्देशिकाबारे भ्रम छर्नका लागि, विभिन्न अफवाहहरू फैलाउनका लागि यो कार्यक्रम पनि हिजोसम्म क्यान्सिल गर भन्नेसम्मको दबाबकाबिच म आज यहाँ उभिएको छु । उहाँहरूले यसको इम्प्याक्ट मात्रै महसुस गर्नुभयो होला र यो नगरोस् भन्ने चाहना थियो ।’

सोमबारको कार्यक्रममा सीडीएससीको प्रबन्ध सञ्चालक पन्दाकले धितोपत्र बोर्डले उक्त निर्देशिका विगत ७ महिनादेखि होल्ड गरेर राखेको आरोप लगाइन् । बोर्डले आईपीओको व्यापार गर्ने व्यापारीको स्वार्थमा लागेर निर्देशिका होल्ड गरिएको आरोप लगाउँदै बरु ती व्यापारीहरू आफूलाई हटाउन लागिपरेको आरोप समेत लगाइन् ।

पन्दाकले भनिन्, ‘मलाई हटाउनका लागि स्वार्थ समूहहरू धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालय र अदालतसम्म पुगेका छन्, तर म सर्वसाधारण लगानीकर्ताको हित विपरीत कुनै काम गर्न सक्दिन ।’

पन्दाकले ऐनमै भएको व्यवस्था अनुसार आफूले निर्देशिका तयार पारी स्वीकृतिका लागि बोर्डमा पठाएको भए पनि बोर्डको कानुन हेर्ने निर्देशकले लामो समयदेखि होल्ड गरेर राखेको आरोप लगाइन् । बोर्डमा कानुन हेर्ने निर्देशक अर्थ मन्त्रालयका उपसचिव विनोद घिमिरे रहेका छन् ।

पन्दाकले भनिन्, ‘यो व्यवस्था मैले अहिले एकाएक ल्याएको होइन । १५ वर्ष अगाडि नै ल्याउनुपर्ने निर्देशिका यसअघिको नेतृत्वले नल्याएपछि अहिले मैले ल्याएको हुँ । यसमा संस्थापक सेयर धनीले सेयर बेच्न नै नपाउने र सधैँ दोहोरो आईजीन हुने भनेको पनि छैन । मात्रै विधि र प्रक्रिया पुराएर एजीएमबाट पारित गरेर ल्याउनुहोस् र सबैलाई थाहा दिनुहोस् भनेको हो ।’

पन्दाकले यसअघि केही सीडीएससीकै कमजोरी, केही स्वार्थ समूहको योजना आदिका कारण केहीमा दोहोरो आईजीन र केहीमा एउटा मात्रै आईजीन दिइएको भन्दे उनले कालिन्चोक दर्शन प्रालि र सिटी होटेलको उदाहरण दिइन् । यसमा सिटी होटेललाई एउटा मात्रै आईजीन र कालिन्चोक दर्शनलाई दुई वटा आईजीन दिइएको भन्दै आफूलाई पनि एउटै आईजीन दिन विभिन्न निकायबाट दबाब र प्रभाव दिइएको बताइन् ।

कार्यक्रममा कबिर एक घण्टाको प्रस्तुति दिएकी पन्दाकले संस्थापक र सर्वसाधारण सेयरको मूल्यमा रहेको भिन्नताका कारण केही समूहले ईजी मनीको माध्यम बनाएको आरोप लगाइन् ।

पन्दाकले कम्पनीको नाम नलिईकन भनिन्, ‘करिब ४१ करोडको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा सुटुक्क मिसाउने हो भने ५ अर्ब ४४ करोडको मूल्यमा छिनभरमै परिणत हुँदो रहेछ । हामीले निर्देशिकामा कहिल्यै नमिसाउनु भनेका छैनौँ, मात्र विधिपूर्वक मिसाउनु, सुटुक्क नमिसाउनु भनेका हौँ ।’

कार्यक्रममा धितोपत्र बोर्डका पदाधिकारी, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष लगायतका व्यक्तिहरूलाई आमन्त्रण गरिएको भए पनि उनीहरू कोही आउँदै आएनन्, कोही आएर जवाफ दिनुपर्ने समयमा बाहिरिए ।

ईप्पानका अध्यक्ष गणेश कार्की, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरत आचार्य, उद्योग परिसंघका प्रतिनिधि तथा पुँजी बजारसँग सम्बन्धित लगानीकर्ताहरूको समेत उपस्थिति थियो ।

कार्यक्रममा ईप्पानका अध्यक्ष कार्कीले दोहोरो आईजीनले लगानीको वातावरण नबन्ने दाबी गर्दै दोहोरो आईजीनको विरोध गरे । त्यसैगरी चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले पनि दोहोरो आईजीन लागू गर्न नहुने धारणा राखे ।

तर जब उनीहरूले धारणा राखे र जवाफ दिनुपर्ने समय आयो, उनीहरू सबै सवालको सामना नै नगरी त्यहाँबाट निस्के ।
लगानीकर्ता तिलक कोइरालाले अबको दुई चार वर्षमै संस्थापक सेयरको मूल्य लगानी गरेको मूल्यको आधारमा आउन सक्ने चेतावनी दिए । अहिले संस्थापक लगानीकर्ताहरू लकिङ अवधि खुल्ने बित्तिकै सेयर बेचेर भाग्ने गरेको भन्दै सीडीएससीले त्यसलाई रोकेर लगानीकर्ताको लगानीको सुरक्षा गर्न खोजेको बर्ता ।

अन्य केही सर्वसाधारण लगानीकर्ताले पनि सीडीएससीले ल्याएको निर्देशिका कार्यान्वयनमा जानुपर्ने भन्दै धितोपत्र बोर्डले व्यापारीको लहैलहैमा लागेर निर्देशिका नल्याएको आराेप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?