बालेनप्रति ओलीको व्यंग्य– ‘बालबच्चाले पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

लोकपथ
14
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केहीले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको भन्दै व्यंग्य गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ प्रति लक्षित गर्दै ओलीले बच्चाबच्चीले भनिदिएजस्तो केहीले आफूहरुलाई प्रधानमन्त्री घोषणा गरिदिएको भन्दै कटाक्ष गरेका हुन् ।

सोमबार झापामा आयोजित चुनावी सभामा बोल्दै उनले प्रधानमन्त्री पदलाई ख्याल गर्ने जिम्मेवारीको रुपमा नलिन पनि सचेत गराए ।

उनले आफूले सरकारको नेतृत्व लिँदा गरेका कामहरु पूरा गर्नका लागि निर्वाचनमा उम्मेदवारी दिएको पनि बताए ।

ओलीले भने, ‘मलाई सरकारबाट हटाएपछि ड्राईभर बिनाको गाडीजस्तो हुन्छ देश । म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ । मैले सरकार छोडेपछि फेरी देश जहाँको त्यही बस्छ । यही हुने गरेको छ । म सुन्छु–प्रधानमन्त्रीको क्यान्डिडेट भन्ने मान्छेले तपाईहरुले बच्चाबच्चीलाई सोध्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ । तर त्यो बच्चा भईहाल्ने त होइन नि । उसले आफूलाई घोषणा गर्दियो । यस्तै मान्छेहरुलाई लाग्यो–ख्यालख्याल जस्तो । तर यस्तो होइन । ’

अध्यक्ष ओलीले आफूले सरकार छोडेपछि देशको हालत ड्राईभरले गाडी छोडेजस्तो हुने जिकिर समेत गरे । उनले सरकारको नेतृत्वमा रहँदा मुलुकको समृद्धिका लागि अभियान नै सञ्चालन गरेको दाबी समेत गरे ।

देशलाई समृद्ध बनाउनका लागि एमालेको विकल्प नभएकाले आसन्न निर्वाचनमा नेपाली जनताले एमालेलाई मतदान गर्नुपर्ने ओलीको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?