कराँची । पाकिस्तान र बंगलादेशबीच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु भएसँगै कराचीका हजारौं बंगाली मूलका बासिन्दामा पारिवारिक पुनर्मिलनको आशा जागेको छ । दशकौंदेखि राजनीतिक तनाव र कागजी जटिलताका कारण छुट्टिएका परिवारहरू फेरि भेटिने सम्भावनाले उनीहरू भावुक बनेका छन् ।
करिब तीन दशकअघि छोटो भ्रमणका लागि पाकिस्तान आएका ६० वर्षीय शाह आलम अझै कराचीमै अड्किएका छन् सुक्खा माछा (सिद्रा) बेचेर जीविकोपार्जन गर्दै आएका उनले बंगलादेश फर्कने दृढता व्यक्त गरेका छन् ।
‘म जानेछु,’ उनले अश्रुपूर्ण हुँदै भने, ‘ईद अल–अधा पछि म मेरो छोरासँग अवश्य फर्कनेछु ।’
उनका आमाबाबु र पहिलो पत्नीको निधन भइसक्दा पनि उनी घर फर्कन सकेका थिएनन् । बंगलादेशमा उनको कृषि जमिन र पुर्ख्यौली घर अझै रहेको छ ।
सन् १९७१ को युद्धअघि एउटै राष्ट्र रहेका पाकिस्तान र बंगलादेशबीचको कटु द्वन्द्वपछि लाखौँको ज्यान गएको थियो । त्यसयता पाकिस्तानमा १० लाखभन्दा बढी जातीय बंगाली बसोबास गर्दै आएको अनुमान छ । कराचीका माचर कलोनीजस्ता क्षेत्रमा बंगाली समुदायको बाक्लो उपस्थिति छ, तर धेरै जना नागरिकता र परिचयपत्र अभावमा राज्यविहीन अवस्थाजस्तै जीवन बिताइरहेका छन् ।
२० वर्षीय हुसेन अहमदले आफू बंगलादेश जान चाहेको तर नागरिकता कागजात नभएकाले असमर्थ रहेको बताए । ‘म पाकिस्तानी हुँ, तर परिचयपत्र छैन,’ उनले भने ।
अर्का २२ वर्षीय अहमदले आफ्नो परिवार सन् १९७१ अघि नै पाकिस्तानमा बसोबास गरिरहेको प्रमाणित गर्न नसक्दा सरकारी मान्यता नपाएको गुनासो गरे । उनीहरूका आफन्त बंगलादेशमा भए पनि भेटघाट सम्भव भएको छैन ।
गत वर्ष पाकिस्तानका विदेशमन्त्री इशाक दारले ढाका भ्रमण गरी बंगलादेशका नेतृत्वसँग भेटवार्ता गरेका थिए । त्यसपछि दुई देशबीचको सम्बन्ध सुधारतर्फ उन्मुख भएको संकेत देखिएको छ । हालै निर्वाचित बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको कार्यकालमा पनि कूटनीतिक संवाद निरन्तर रहने अपेक्षा गरिएको छ ।
कराचीका स्थानीय राजनीतिज्ञ मुहम्मद रफिकल हुसेनका अनुसार पाकिस्तानभरि फैलिएका बंगाली समुदायले अर्थतन्त्रमा योगदान पु¥याउँदै आएका छन् । ‘यो हाम्रो चौथो पुस्ता हो,’ उनले भने, ‘सौहार्दपूर्ण सम्बन्धले दुवै देशलाई फाइदा पु¥याउनेछ ।’
तर सामुदायिक कार्यकर्ता हाफिज जैनुलाब्दीन शाहले बंगालीहरूले स्थानीय भाषा अपनाउँदै जाँदा आफ्नो सांस्कृतिक पहिचान कमजोर हुँदै गएको टिप्पणी गरे ।
राजनीतिक उतारचढाव र पहिचानको द्विविधाबीच कराचीका बंगालीहरू अहिले एउटा साझा आशामा बाँधिएका छन्– सीमापार उडानसँगै बिछोडिएका परिवार फेरि एक हुने दिन नजिकिएको अनुभूति । ‘यो सम्बन्ध सदाका लागि कायम रहोस्,’ शाहले भने, ‘हामी अभावबीच पनि आशावादी छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया