सुनसरीमा खुला सीमा र सद्भाव बनाउन प्रमुख सुरक्षा चुनौती

लोकपथ
28
Shares

काठमाडौं । सुनसरीका ५९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा परेका छन् ।

अधिकांश जसो भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदान स्थल अति संवेदनशील सूचीमा रहेका हुन् ।

जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये सुनसरीको बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिकालाई सुरक्षाको हिसावले अति संवेदनशील ठानिएको छ ।

सीमावर्ती भेगमा पर्ने उक्त पालिकाका सबै मतदान स्थल सुरक्षाका हिसावमा अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा दक्षिणी भेगका अलावा दुहबी नगरपालिकाको ६ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।

त्यसैगरी गढी गाउँपालिकाको ३ वटा मतदान स्थल, इनरुवा ९ को ४ वटा मतदान स्थल र धरान ५ को हिमाली मावि देउराली मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन् ।

सुनसरी प्रशासनले निर्वाचन लक्षित सुरक्षाका हिसावले विशेषगरी जिल्लाको दक्षिणी खुला नाकालाई नै मुख्य सुरक्षात्मक चुनौतिका रुपमा हेरेको छ । सोहीअनुसार भारतीय समकक्षीसँगको समन्वयमा सीमा नाकामा कडाई थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नाकाबाट हुने आवतजावत लक्षित गरी दुई तर्फी चेकजाँच बढाइएको प्रशासनले जनाएको छ । नाकाबाट हुनसक्ने शंकास्पद गतिविधि र आपराधिक प्रवृति भएकाहरुबाट हुनसक्ने थ्रेटलाई मध्यनजर गर्दै सर्तकर्ता बढाइएको प्रशासनले जनाएको छ ।

धार्मिक सद्भाव कायम राखी रहने, अवाञ्छित कार्य हुन नदिने जस्ता कुरालाई ध्यानमा राखी सुनसरीमा प्रशासनले निरन्तर रुपमा सर्वपक्षीय र सर्वदलीय बैठक समेतको आयोजना गरिरहेको छ । विशेषगरी जेनजी मुभमेन्ट र पुराना दलबीच देखापर्न सक्ने तिक्ततालाई मध्यनजर गर्दै आचारसंहिता कार्यान्वयन र सुरक्षा बन्दोवस्तीमा जोड दिइएको प्रशासनले जनाएको छ । समग्र जिल्लाको शान्ति सुरक्षाकालागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी ड्युटीमा परिचालित भैसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा फागुन २१ को निर्वाचनका लागि १ सय ६६ मतदान स्थल र ५९१ मतदान केन्द्र तोकिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार मत खसाल्न योग्य जिल्लाको कुल मतदाता संख्या ५ लाख ८० हजार ९ सय ४५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?