मकवानपुरमा रास्वपालाई गम्भीर धक्का : जिल्ला सभापति पराजुली रास्वपा छाडेर कांग्रेस प्रवेश 

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन् । रास्वपा मकवानपुरले आज सोमबार दिउँसो ४ बजे हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सभापति रवि लामिछानेको उपस्थितिमा चुनावी सभा आयोजना गरिरहँदा सभापति पराजुली रास्वपा परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका हुन् । उनी विगतमा नेपाली कांग्रेसमै आबद्ध थिए ।

पराजुलीलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशका लागि उनीसहितका रास्वपा नेता÷कार्यकर्ताहरू सभापति गगन थापालाई भेट्न आइतबार राति नै सर्लाही पुगेका थिए । सभापति थापा अहिले सर्लाहीमा छन् । 

उनले सामाजिक सञ्जालमार्फत रास्वपा परित्याग गरेको पनि घोषणा गरेका छन् । ‘समयक्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो । हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौं, व्यवहारमा त्यसको ठिक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो,’ पराजुलीले भनेका छन्, ‘सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो ।’

मनहरी गाउँपालिका घर भएका पराजुली १५ महिनाअघि २०८१ साल मंसिर ६ गते भएको पार्टीको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रूपमा पुनः सभापति चयन भएका थिए । शालीन र भद्र स्वभावका उनले जिल्लाको पश्चिमी क्षेत्रमा राम्रो राजनीतिक छवि स्थापित गरेका छन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी १२ हजार ३९ मतसहित तेस्रो भएका थिए । यस क्षेत्रबाट नेकपा एमालेका महेश बर्तौला ३४ हजार ९ सय १६ मत ल्याउँदै विजयी हुँदा तत्कालीन नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले ३० हजार ३ सय ९६ मत पाएका थिए ।

यो क्षेत्रमा अहिले रास्वपाले मनहरी गाउँपालिका नै घर भएका २५ वर्षीय प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?