सरकारलाई सचेत गराउँदै कांग्रेसले भन्यो– ‘निष्पक्षतामा दायाँबायाँ गर्ने छुट छैन’

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले शासनको वैधताको एक मात्र स्रोत जनताको मताधिकार भएको भन्दै निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट पारेका छन् ।

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने सम्पूर्ण दायित्व सरकारको भएको स्मरण गराएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो वक्तव्यदेखि लिएर कांग्रेसमा भइरहेको अन्य दलका नेताहरूको प्रवेशसम्मका विषयमा उनले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरे ।

प्रवक्ता चालिसेले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनु जनताको नैसर्गिक अधिकार भएको कुरामा जोड दिँदै सरकारलाई आफ्नो कर्तव्यप्रति सचेत गराए ।

‘शासनको वैधताको स्रोत जनताको मताधिकार हो। यसमा कुनैपनि दायाँबायाँ गर्ने छुट सरकारलाई छैन,’ उनले भने, ‘हामीले सरकारको नियतमाथि अहिल्यै शंका गरिसकेका त छैनौँ, तर निष्पक्षताको वातावरण निर्माण गर्ने कर्तव्यप्रति सरकार निरन्तर सचेत हुनु जरुरी छ ।’

कांग्रेसमा प्रवेश गर्नेको लहर, बहुमत आउने दाबी

पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूको ठुलो लहर चलेको चालिसेले दाबी गरे ।

उनकाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्यहरू, उच्च तहका नेताहरू र प्रदेश संयोजकहरूदेखि लिएर नेपाल कम्युनिस्ट पार्टीका पूर्वमन्त्री, केन्द्रिय सदस्य र संविधानसभा सदस्यहरूसमेत कांग्रेसमा प्रवेश गरेका छन् ।

‘जिल्ला अध्यक्षदेखि सम्पूर्ण जिल्ला कमिटी नै कांग्रेसमा समाहित भएका समाचारहरू सार्वजनिक भइसकेका छन् । साना–ठूला सबै पार्टीका हजारौँ नेता तथा कार्यकर्ता र कतिपय समानुपातिक उम्मेदवारहरूसमेत कांग्रेसमा आबद्ध हुने क्रम जारी छ,’ उनले भने ।

उपयुक्त समय र सन्दर्भ मिलाएर आमसभा तथा विभिन्न कार्यक्रमहरूमार्फत नवप्रवेशीहरूलाई पार्टीमा व्यवस्थित गर्दै लगिने उनले जानकारी दिए । यो आकर्षण र उत्साहजनक सङ्ख्याले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमतमा पुर्‍याउने विश्वास पार्टीले लिएको उनले बताए ।

‘सुसुप्त शक्तिहरूले चुनाव बिथोल्न खोजे पनि निर्वाचन रोकिँदैन’

मतदातामाझ निर्वाचन हुने वा नहुने भन्ने आशङ्का रहेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रवक्ता चालिसेले निर्वाचन हुन नदिने सुसुप्त शक्तिहरू सक्रिय हुनसक्ने सम्भावनालाई नकार्न नसकिने बताए । यद्यपि सरकारको दृढता र राजनीतिक दलहरूको सक्रिय सहभागिताले ती सबै आशङ्का र सम्भावनाहरूको अन्त्य गर्ने उनले स्पष्ट पारे ।

‘निर्वाचन सार्नु वा नहुनु भनेको अर्को अर्थ लाग्नु हो । डेमोक्रेटिक पार्टीले जनताको सार्वभौमसत्ता र सर्वोच्चतालाई सधैँ स्वीकार गर्छ,’ उनले भने, ‘लोकतन्त्रमा भाग लिने सबै पार्टीहरू विचलित नभई चुनावमा होमिनुको विकल्प छैन ।’

पूर्वराजाको वक्तव्यमाथि टिप्पणीः ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’

पूर्वराजा ज्ञानेन्द्र शाहले ‘राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जाँदा निकास निस्कँदैन’ भनी दिएको वक्तव्यप्रति लक्षित गर्दै प्रवक्ता चालिसेले व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्ने तर लोकतन्त्रको विकल्प अरू केही हुन नसक्ने प्रष्ट पारे ।

‘कुनैपनि नागरिकको व्यक्तिगत स्वतन्त्रता हुन्छ, त्यसमा हाम्रो कुनै टिप्पणी छैन । तर लोकतन्त्रलाई सुनिश्चित गर्ने जनताको मतले नै हो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, त्यो भन्दा भिन्न अन्य अर्थ राख्न सकिँदैन,’ उनले भने ।

निर्वाचन पश्चात जनताका प्रतिनिधिहरू उपस्थित भएको संसदले नै देशमा विद्यमान सम्पूर्ण राजनीतिक समस्याहरूको समाधान गर्ने विश्वास नेपाली कांग्रेसले लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?