काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट लोकतन्त्र खतरामा रहेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बडालले यस्तो टिप्पणी गरेका हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिकै आधारमा लोकतान्त्रिक व्यवस्था खतरामा रहेको भाष्य निर्माण गरिनु नहुने जिकिर गरे ।
उनले भने, ‘प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाबाट आएको वक्तव्यलाई सुनेर लोकतन्त्र नै समस्यामा छ भन्ने भाष्य बनाइनु हुँदैन । अहिले निर्वाचनको समयमा घटेका घटनाको आधारमा चिन्ता र चासोका विषयहरुलाई अन्यथा पनि लिनु हुँदैन । आज यो लोकतन्त्रमा समस्या छ भने तत्कालीन राजाभन्दा पनि अहिलेको अराजकता र त्यसको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जुन काम भइरहेको छ । यसबाट नै लोकतन्त्र खतरमा छ जस्तो अनुभुति हुन्छ । कांग्रेस–एमालेको सरकारको क्रममा भएको जेनजी आन्दोलनमा जुन किसिमको क्षति भयो । त्यसको भोलिपल्ट हाम्रा सम्पदा जले, कयौँले मृत्युवरण गरे ।’
त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुदेश पराजुलीले गलत प्रवृत्तिका विरुद्धमा जनता जागेको कारण जेनजी विद्रोह भएको बताए ।
आगामी निर्वाचन असत्य र गलत प्रवृत्तिविरुद्ध जनताको निर्णायक अभिव्यक्ति हुने उनको भनाइ छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रामप्रसाद भट्टराईले जेनजी छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएको विषयमा सरकार, छानबिन समिति र एमालेबीच बार्गेनिङ भएको हुन सक्ने आशंका व्यक्त गरे । भट्टराईले निर्वाचनअघि प्रतिवेदन सार्वजनिक भए केही नेताको नाम आउने सम्भावना रहेको भन्दै त्यसै कारण प्रतिवेदन रोकिनुको आशंका रास्वपाले गरेको दाबी गरे । भट्टराईले भदौ २४ को बिध्वंसभन्दा पहिले भदौ २३ आएको विषयलाई नबिर्सन आग्रह गर्दै केही राजनीतिक दलले जेनजी विद्रोहलाई आतंकवादको संज्ञा दिएकोप्रति आपत्ति जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया