नेपालगन्जको २ वर्ष पुरानो एउटा निर्मम हत्याका आरोपित भारतबाट पक्राउ

लोकपथ
294
Shares

काठमाडौं । व्यक्ति हत्याको आरोपमा २ वर्षदेखि फरार एक व्यक्ति पक्राउ परेका छन् । बाँके प्रहरीले व्यक्ति हत्यामा संलग्नताको आशंका गरिएका ५३ वर्षीय अफजल पठानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातालीका अनुसार हत्यापछि फरार रहेका स्थानीय अफजल पठानलाई नेपाल भारत सीमा क्षेत्रबाट गत फागुन ५ गते पक्राउ गरिएको हो । फागुन ५ गते नै पक्राउ गरिएको भए पनि उनलाई बाँके प्रहरीले फागुन ९ गते शनिवार मात्रै सार्वजनिक गरेको हो ।

अफजलले २०८० चैत्र १७ गते नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २१ गंगाराम पूर्वाका स्थानीय २२ वर्षीय युवक इन्तजार भन्ने मोहम्मद अरबी खाँको हत्या गरेको आरोप छ । २०८० चैत १७ गते राति आफ्नो घरबाटै हराएका खाँ को शव त्यसको भोलिपल्ट बिहान घरबाट ५ सय मिटर टाढा सडकमा भेटिएको थियो । खाँको मृत शरीरभरि धारिलो हतियार प्रहार भएको पाइएको थियो ।

सोही घटनामा खाँका छिमेकीसमेत रहेका अफजलमाथि हत्याको जाहेरी परेको थियो । त्यस लगत्तै अफजल नेपालबाट भागेर भारत पुगेका थिए ।

लामो समय भारतमा लुकेर बसेका अफजललाई बाँके प्रहरीले सीमा क्षेत्रबाट पक्राउ परेको दाबी गरेको छ । यद्यपि स्रोतका अनुसार अफजललाई बाँके प्रहरीको टोलीले भारतबाटै पक्राउ गरी नेपाल ल्याएको हो ।

हत्याको जानकारी अफजलले नै गराएका थिए
इन्तजार भन्ने मोहम्मद अरबी खाँ अघिल्लो दिनदेखि घरबाट हराएकामा भोलिपल्ट बिहानै उनको शव भेटिएको थियो । खाँको शव भेटिएको कुरा सबैभन्दा पहिले उनको छिमेकीसमेत रहेका अफजल पठानले गाउँलेलाई गराएका थिए । गाउँलेहरूका अनुसार अफजल घरमै बसेर खाँको शव भेटिएको जानकारी स्थानीयलाई गराएका थिए ।

मृतक अरबी खाँ

तर जब प्रहरीहरू अनुसन्धानका लागि घटनास्थलमा आइपुगे, त्यस लगत्तै अफजल त्यहाँबाट भागेर भारत पुगेका थिए ।
यता मृतकका परिवारले भने यसको दोष अर्का छिमेकी मिराज भन्ने व्यक्तिलाई लगाएका थिए । बाँके प्रहरीले मिराजलाई २६ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गरे पनि घटनामा संलग्नताको पुष्टि गर्न नसकेपछि उनलाई अभद्र व्यवहारको मुद्दा चलाएर छाडिएको थियो ।

उक्त घटनामा परिवारका तर्फबाट १९ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । तर अनुसन्धानले आरोप पुष्टि हुन नसकेपछि प्रहरीले उनीहरुविरुद्ध मुद्दा चलाएको थिएन । अफजललाई भने प्रमुख शंकितका रूपमा राख्दै अनुसन्धान अगाडि बढाएको थियो ।

सोही घटनामा स्थानीय स्तरमा व्यापक दबाब आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले समेत अनुसन्धान गरेको थियो । सिआइबीको अनुसन्धानमा पनि प्रमुख शंकितका रूपमा अफजललाई राख्दै उनलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने रायसहितको प्रतिवेदन दिएको थियो ।

खाँ र पठानको परिवारबिच लामो दुस्मनी
प्रहरी अनुसन्धानले मृतक इन्तजार भन्ने मोहम्मद अरबी खाँ र अफजल पठानको परिवारबिच लामो समयदेखि दुस्मनी रहेको पाएको छ । यसअघि २०६० साल र २०६२ सालमा भएको दुई हत्यामा अफजल पठान र मृतक अरबी खाँको हजुरबुवाको संलग्नता रहेको भन्दै जाहेरी परेको थियो । एक परिवारको अर्को परिवारको नाममा जाहेरी दिएको र दुस्मनी बढाएको भन्दै दुवै परिवारका दुस्मनी बढेको थियो । तराई मधेसका क्षेत्रमा रिस र बदलाका लागि पनि जाहेरी दिने गरिएकाले दुवै परिवारबिच दुस्मनी बढेको थियो ।

प्रहरीका अनुसार २०६१ साल असार १७ गते स्थानीय हफिजुल्ला खाँ को हत्या भएको थियो । सो हत्यामा एक अर्को परिवारका बिचमा एक अर्को परिवारले नै प्रहरीमा किटानी जाहेरी दिएको थियो ।

त्यस्तै २०६२ भदौ ११ गते स्थानीय रियाज खाँ को हत्यामा पनि एक अर्को परिवारलाई आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिइएको थियो । यी दुवै घटनामा मृतकका हजुरबुवा र हाल पक्राउ परेका प्रतिवादी अफजल पठानलाई प्रतिवादी बनाइएको थियो । उक्त घटनामा एक अर्काले बदला र रिस पोख्न एक अर्कोको विरुद्ध किटानी जाहेरी दिएको भन्दै आरोप प्रत्यारोप चलिरहेको थियो ।

यही आरोप प्रत्यारोपकै बिच २०८० चैत १७ गते २२ वर्षीय इन्तजार भन्ने मोहम्मद अरबी खाँको निर्ममतापूर्वक हत्या भएको थियो । उक्त हत्यामा आक्रमणकारीले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

सिआइबीको अनुसन्धानमा घटनाको दिन अर्थात् शव भेटिएको अघिल्लो दिन अफजल पठानको घरमा दुई वटा मोटरसाइकलमा भारतीय नागरिकहरूसमेत आएको र अफजलसहित भारतीय नागरिकहरूले अरबी खाँ को हत्या गरेको हुनसक्ने भन्दै अफजललाई पक्राउ गरी अनुसन्धान गर्न भनिएको थियो । यद्यपि अफजल लामो समयदेखि फरार रहेकाले उनीमाथि अनुसन्धान हुन सकेको थिएन ।

बाँके प्रहरीले अफजललाई भारतबाटै पक्राउ गरेर ल्याएपछि उनले हालसम्म के भने प्रहरीले त्यो खुलाएको छैन । यद्यपि बाँके प्रहरीका अनुसार घटनाबारे उनलाई जानकारी भएको र क कसको कस्तो संलग्नता हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?