रेकर्ड फाइल बोकेर गोरखाका गाउँगाउँमा कांग्रेसलाई भोट माग्दै मुख्यमन्त्री पाण्डे

लोकपथ
119
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशबाट भएका कामलाई सुनाउँदै गोरखा क्षेत्र नं २ विभिन्न स्थानमा पुगेका छन् ।

निर्वाचन आयोगबाट अनुमति लिएर गृहजिल्ला गोरखाका चुनावी कार्यक्रमा सहभागी भएका मुख्यमन्त्री पाण्डेले कांग्रेसले गरेका काम देखाएर भोट मागिरहेका छन् ।

मुख्यमन्त्री पाण्डेले दुईवटा रेकर्ड फाइलमा प्रदेश सरकारले विगत ३ वर्षमा ल्याएको बजेटको फेहरिस्त सुनाउँदै भोट मागेका हुन् ।

‘प्रदेश सरकारको रातो किताबमा गोरखा जिल्लामा विनियोजन गरेको बजेटको एक–एक हिसाब मसँग छ’ सूची देखाउँदै मुख्यमन्त्री पाण्डे भने, ‘तपाईँहरूको सबै माग पूरा भयो त म भन्दिनँ, तर धेरै भएको छ ।’

उनले गोरखामा मात्र नभई प्रदेशभर आफ्नो नेतृत्वमा धेरै काम भइरहेको बताए । उनले गोरखाको विकासका लागि कांग्रेसका उम्मेदवारलाई विजय गराउन आग्रह गरे ।

‘सरकार बनाउन कांग्रेसलाई बहुमत चाहिन्छ, समानुपातिकमा पनि रुखमै भोट हाल्नुहोस्,’ उनले भने ।

तत्कालीन समयमा फरक राजनीतिक परिवेशका कारण विगतका दुईवटा निर्वाचनमा गोरखा २ मा कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा रुखमा मतदान गर्न नपाएको स्मरण गर्दै उनले भने, ‘धेरै साथीहरूको रुखमा भोट हाल्न पाइएन भन्ने गुनासो पनि अहिले हटेको छ, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी उमेदवार हुनुहुन्छ,’ उनले भने ।

प्रदेश सरकारको नेतृत्व आफू गएपछि आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ मा सडक, खानेपानी, सिंचाइ, सामाजिक, पर्यटन, स्वास्थ्य लगायत सबै क्षेत्रमा राम्रो काम गरेको दाबी समेत मुख्यमन्त्री पाण्डेको रहेको छ ।

गोरखा २ (२) बाट प्रदेश सभामा निर्वाचित मुख्यमन्त्री पाण्डेले आफूले चुनावमा गरेको वाचा पूरा गर्न उन्मुख रहेको बताउँदै भने, ‘निर्वाचन क्षेत्रभित्रका मुख्य–मुख्य सडक बाह्रै महिना गाडी चल्ने बनाउँछु भनेको थिएँ, भएको छ, हुने क्रममा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?