काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण लागू गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन् ।
आइतबार नेपाल आर्थिक पत्रकार समाज ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको जानकारी दिए ।
उनका अनुसार इथानोल मिश्रणसम्बन्धी अध्ययन विगत दुई दशकदेखि हुँदै आएको छ र हाल पेट्रोलमा इथानोल मिसाउने आदेश २०८२ स्वीकृत भइसकेको छ । उक्त नीति राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा जाने तयारीमा रहेको उनले बताए ।
मन्त्री सिन्हाले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १३ करोड लिटर पेट्रोल आयात घट्ने र यसबाट झन्डै ६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बचत हुने दाबी गरे । ‘नेपालमा पसिनाले कमाएको पैसा देशमै बच्नेछ । त्यो बचत रकमले स्थानीय तहमा नयाँ प्रकृतिको अर्थचक्र घुमाउन सहयोग पुग्नेछ, ‘उनले भने ।
उनले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिने नीति सरकारले लिएको उल्लेख गर्दै सरकारी कार्यालयदेखि निर्वाचनका समयमा समेत स्थानीय तहमै उपलब्ध सामग्री त्यहीँबाट खरिद गर्ने व्यवस्था लागू हुँदा स्थानीय अर्थतन्त्र चलायमान बनेको बताए ।
इथानोल उत्पादनका लागि उखुजस्ता कृषि उत्पादन बढ्ने, कृषि भूमिको उपयोग विस्तार हुने तथा आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री सिन्हाले नयाँ उद्योग स्थापना, औद्योगिक वातावरण, सुरक्षा, रोजगारी र कच्चापदार्थ उत्पादनजस्ता क्षेत्रमा चुनौती भने रहेको स्वीकार गरे ।
यस क्षेत्रमा विदेशी लगानी भित्रिने सम्भावना रहेको उल्लेख गर्दै उनले स्वस्थ प्रतिस्पर्धा आवश्यक भए पनि अस्वस्थ प्रतिस्पर्धा हुन नहुनेमा जोड दिए । इथानोललाई प्रतिस्पर्धी बनाउन पेट्रोलभन्दा यसको मूल्य कम हुनुपर्ने र त्यसका लागि आवश्यक कार्यविधि चाँडै ल्याइने पनि मन्त्री सिन्हाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया