ब्याटलग्राउन्ड काठमाडौं-२ : को कति बलियो ? [भिडियोसहित]

कति मत ल्याए होलान् विजयी ?

लोकपथ
336
Shares

अञ्जना अधिकारी/काठमाडौं । काठमाडौंको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ यतिबेला पुनः चुनावी चर्चाको केन्द्रमा छ । २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी बनेको यो क्षेत्र यस पटक भने नयाँ राजनीतिक समीकरण, उम्मेदवार परिवर्तन र मतदाताको बदलिँदो सोचका कारण थप रोचक बनेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेसँगै काठमाडौं-२ मा पनि घरदैलो अभियान, मतदाता भेटघाट र विभिन्न चुनावी कार्यक्रम तीव्र भएका छन् । काठमाडौं २ मा चुनाव राम्रैसँग लागेको देखिन्छ ।

प्रजातन्त्रको पुनर्स्थापनापछिको इतिहास हेर्दा यो क्षेत्रमा २०४८ सालमा नेपाली कांग्रेसका नेता दमननाथ ढुङ्गाना निर्वाचित भएका थिए । त्यसपछिका निर्वाचनहरूमा २०७४ सालसम्म नेकपा एमालेको बढी प्रभाव रहेको क्षेत्रमा रूपमा रह्यो । यस क्षेत्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादीका झक्कु प्रसाद सुवेदीजस्ता चर्चित नेताहरूले प्रतिनिधित्व गरिसकेका छन् । २०७९ मा भने उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित निकाल्दै सोबिता गौतम निर्वाचित भएकी थिइन् । तर गौतम अहिले काठमाडौं २ छाडेर चितवन ३ मा उम्मेदवार रहेकी छिन् ।

२०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले १५ हजार २३८ मत ल्याएर विजयी हुँदा एमालेका मणिराम फुयाँलले ११ हजार ५६६ मत ल्याई दोस्रो स्थानमा रहेका थिए । तेस्रो स्थानमा भने राप्रपाकी कुन्तीदेवी पोखरेल रहेकी थिइन् । पोखरेलले ११ हजार २४ मत ल्याउन सफल भएकी थिइन् ।

यता नेपाली कांग्रेसको समर्थन पाएको तत्कालीन माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीलाई भने ९ हजार ४५९ मत मात्रै प्राप्त भयो ।

कस्तो छ काठमाडौं -२ को अवस्था ? कसले कति मत पाए जित्लान् ?

यस क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२, शंखरापुर नगरपालिकाको वडा नम्बर ९ तथा कागेश्वरी मनोहरा नगरपालिकाको ४, ५, ६, ७, ८ र ९ समेटिएका छन् । हाल यहाँ ८८ हजार ७ सय ८ जना मतदाता रहेका छन् । जस मध्य पुरुष ४३ हजार ९ सय ९३ र महिला ४५ हजार ३ सय १५ रहेको छ ।

काठमाडौं २ – निर्वाचन परिणाम (नेपाली अंक + कमा)

🗳️ प्रतिनिधि सभा निर्वाचन २०७९

काठमाडौं क्षेत्र नम्बर २

📋 कुल मतदाता: ८१,९७० ✔️ खसेको सदर मत: ५०,८१७ 📊 मत खसेको प्रतिशत: ६२.०%
विजेता : सोबिता गौतम (रास्वपा)    |    मतान्तर : ३,६७२

गत प्रतिनिधि सभा निर्वाचनमा उक्त काठमाडौं २ मा कुल ८१ हजार ९ सय ७० रहेकोमा जम्मा ५० हजार ८ सय १७ मत खसेको थियो । यसलाई प्रतिशतमा हेर्दा कुल मतदाताको करिब ६२ प्रतिशत मत खसेको थियो ।

समानुपातिक निर्वाचन २०७९ (प्रदर्शन)

🗳️ प्रतिनिधि सभा निर्वाचन २०७९

समानुपातिक निर्वाचन (प्रदर्शन डेटा)

📊 कुल सदर मत: ५१,३४८ 🏆 सर्वाधिक मत: १३,८७९ 📈 मतदान प्रतिशत:
सर्वाधिक मत : रास्वपा (१३,८७९)    |    मतान्तर : २,०६३

२०७९ को प्रतिनिधिसभा तर्फ हेर्दा कुल ८१ हजार ९ सय ७० मतदाता रहेकामा समानुपातिक तर्फ ५१ हजार ३४८ सदर मत खसेको थियो । उक्त निर्वाचनमा समानुपातिक तर्फ पनि सबै भन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाएको थियो ।

कुल ५१ हजार ३४८ सदर मतमा रास्वपाले सबै भन्दा बढी अर्थात् १३ हजार ८७९ पाएको थियो । उक्त क्षेत्रमा दोस्रो बनेको राप्रपाले ११ हजार ८१६ मत पाउँदा एमालेले ९ हजार ५१४ मत पाएको थियो । उक्त क्षेत्रमा चौथो बनेको नेपाली कांग्रेसले ७ हजार १६७ पाउँदा माओवादी केन्द्रले २ हजार ९१५ र पाँचौँमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) २ हजार ६५५ प्राप्त गरेको थियो । अन्य पार्टीको समानुपातिक मत एक हजार भन्दा कम नै रहेको थियो ।

को को छन् चुनावी मैदानमा ?

अहिले यस क्षेत्रमा राजनीतिक दलबाट १६ जना र १२ जना स्वतन्त्र गरी कुल २८ जना चुनावी मैदानमा छन् । यस पटक सोबिता गौतम चितवन–३ बाट उम्मेदवार बनेपछि काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ अनुहारका रूपमा सुनिल केसीलाई अघि सारेको छ । केसी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर राप्रपा परित्याग गरी रास्वपाबाट उम्मेदवार बनेका हुन् ।

त्यस्तै, एमालेबाट मणिराम फुयाँल पुनः उम्मेदवार बनेका छन् । उनी २०७९ मा सोबिता गौतमसँग पराजित भई दोस्रो स्थानमा रहेका थिए । पहिले पेसाले शिक्षक रहेका फुयाँल २०७४ सालमा प्रदेशसभामा विजयी भइसकेका व्यक्ति हुन् । यस पटक अघिल्लो पराजयको बदला लिने दाउमा एमालेले उनलाई नै दोहोर्‍याएको छ ।

त्यसै गरी, नेपाली कांग्रेसले भूगर्भविद् कबिर शर्मालाई उम्मेदवार बनाएको छ । राप्रपाबाट अघिल्लो निर्वाचनमा पराजित भएकी कुन्तीदेवी पोखरेल पुनः मैदानमा छिन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले युवा नेता नितेश पौडेललाई उम्मेदवार बनाएको छ ।

कति मत ल्याए विजयी होलान् ?

२०७९ को निर्वाचनलाई आधार मानेर विश्लेषण गर्ने हो भने यो पटक फरक मत आउन सक्छ । किनभने त्यतिबेला कांग्रेसको आफ्नो उम्मेदवार रहेको थिएन र माओवादी केन्द्रलाई सहयोग गरेको थियो । तर अहिले भने कांग्रेसको आफ्नै उम्मेदवार छ र त्यहाँ कुनै गठबन्धन पनि रहेको छैन ।

तर उक्त निर्वाचनमा समानुपातिक तर्फ खसेको मतको मात्रै विश्लेषण गर्दा पनि नतिजा फरक आउन सक्छ । यस वर्ष काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ८८ हजार ७ सय ८ जना कुल मतदाता रहेका छन् जुन अघिल्लो पटकको निर्वाचनमा भन्दा ६ हजार ७३८ ले बढी हो । अघिल्लो निर्वाचनमा खसेको ६२ प्रतिशत मतमा करिब २ प्रतिशत थप गर्ने हो र कुल मतदाताको ६४ प्रतिशत मत खस्छ भनेर अनुमान गर्ने हो भने उक्त निर्वाचन क्षेत्रमा करिब ५६ हजार ७७३ मत खस्न सक्छ ।

अब यस पटक कुनै पनि राजनीतिक दलहरूबिच गठबन्धन नभएको कारण दलहरूले पाउने वास्तविक मतको चित्र पनि फरक देखिन सक्छ । त्यसबाहेक प्रत्यक्ष हुने निर्वाचन प्रणालीमा व्यक्तिको चरित्र वा पहिचानले समेत फरक पार्ने भएकाले नतिजामा केही फरक पर्न सक्छ ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १५ हजार २३८ मत प्राप्त गरेर विजयी भएको थियो जुन कुल सदर मतको करिब ३० प्रतिशत मत हो । यता दोस्रो स्थानमा रहेको एमालेका उम्मेदवार मणिराम फुयाँलले ११ हजार ५६६ मत पाएका थिए, जुन कुल सदर मतको करिब २३ प्रतिशत हो । यसरी हेर्दा पहिलो र दोस्रो बिचको मत अन्तर धेरै नै थियो भन्दा हुन्छ । तर दोस्रो स्थानका फुयाँल र तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्तीदेवी पोखरेलको ११ हजार २४ मतामा खासै फरक थिएन । यता चौथो स्थानमा रहेको माओवादी केन्द्रले कांग्रेसको समर्थनमा ९ हजार ५५९ मत मात्र प्राप्त गरेको थियो ।

मत परिणामलाई अंकको हिसाबले हेर्दा पहिलो र दोस्रो बिचको अन्तर ३ हजार ६७२ मत थियो भने दोस्रो र तेस्रो बिचको अन्तर केबल ५४२ मतको मात्रै रहेको थियो ।

२०७९ मा दोस्रो र तेस्रो स्थानमा रहेका उम्मेदवारहरू अहिले पनि चुनावी मैदानमा छन् । रास्वपातर्फ सुनिल केसी उम्मेदवार भएका छन्, जबकि एमाले र राप्रपातर्फ अघिल्लो निर्वाचनका पुरानै उम्मेदवारहरू पुनः मैदानमा छन् । अघिल्लो निर्वाचनमा दोस्रो र तेस्रो बिचको केवल ५४२ मतको सानो अन्तरले देखाएको रहेको थियो ।

यो विश्लेषण हेर्दा अहिले पनि निर्वाचनमा विजयी हुन करिब २६ देखि ३२ प्रतिशतको बिचमै मत ल्याउनुपर्ने हुनसक्छ । यस पटक कांग्रेसको मतसमेत आफ्नै पार्टीमा खस्ने भएकाले प्रतिशतमा केही फरक परे पनि कुल मतदाता ८८ हजार ७०८ मतदाताको ६४ प्रतिशत अर्थात् ५६ हजार ७७३ मत खस्न सक्छ भनेर अनुमान गर्ने हो भने त्यसको करिब ३० प्रतिशत अर्थात् करिब १७ हजार मत ल्याउनुपर्ने हुनसक्छ । यस निर्वाचनमा जुन उम्मेदवारले करिब १७ हजारको हाराहारीमा मत ल्याउन सक्छ, ती उम्मेदवार विजयी बन्न सक्ने सम्भावना रहेको छ ।

यस पटक रास्वपाले नयाँ उम्मेदवार अघि सारेको कारण पुरानो उम्मेदवारलाई प्रत्यक्ष फाइदा पुग्ने सम्भावना पनि छ । तर त्यतिबेला कांग्रेसको उम्मेदवार नभएकोले मत सहज रूपमा रास्वपाको पक्षमा गएको कतिपय स्थानीय मतदाताको दाबीसमेत छ । तर अहिले कांग्रेसले आफ्नो उम्मेदवार मैदानमा उतारेपछि स्थिति बढी प्रतिस्पर्धात्मक भएको केही मतदाताको भनाई छ ।

२०७९ को मत परिणामले देखाएको सानो मत अन्तर र वर्तमान उम्मेदवारको परिवर्तनले काठमाडौं–२ मा चुनाव अझ प्रतिस्पर्धात्मक बनाएको छ । मतदाताको प्राथमिकता, उम्मेदवारको पहिचान जेनजी आन्दोलन पछि उदाएको नयाँ पार्टी र पार्टीको रणनीतिले निर्णायक भूमिका खेल्नेछ । यसरी हेर्दा, यस क्षेत्रको चुनाव परिणाम पहिले जस्तो सहज छैन र कुनै पनि दलले सुनिश्चित विजय ग्यारेन्टी गर्न सक्ने अवस्था रहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?