काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू विदेश पलायन गरिरहेको बताएका छन् ।
आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्त्री इङ्नामले भूमि, मालपोत र नापीजस्ता क्षेत्रहरू आम सर्वसाधारणको मुख्य सरोकारको विषय भएको भन्दै यी क्षेत्रमा सुशासन कायम गर्नुपर्ने बताएका छन् । उनका अनुसार यसले सकारात्मक सन्देश जाने र राजश्व पनि वृद्धि हुने विश्वास गर्न सकिन्छ ।
मन्त्री इङ्नामले भने, ‘अहिले दिन–दिन राज्य र प्रशासनमाथि आलोचना भइरहेका छन्, र यसको असर नागरिकको विदेश पलायनमा पनि देखिन्छ। भूमि, मालपोत, नापी आम सर्वसाधारणको अधिकार र सरोकारको क्षेत्र हो । यदि यहाँ सुशासन कायम भयो भने राजश्व वृद्धि मात्र होइन, जनताको विश्वास पनि बढ्छ ।’
भूमि मन्त्रालयले हालै जारी गरेको सर्कुलर अनुसार वडामा दर्ता गरिएको तमसुक (लिखत)लाई आधार मान्दै राजश्व असुल गर्न निर्देशन दिइएको छ । यसले करिब ५० अर्ब रुपैयाँको राजश्व वृद्धि हुने मन्त्री इङ्नामले बताए। उनले जग्गा खरिद–बिक्रीमा रियल कारोबारको रकम र मालपोतमा दर्ता हुने रकममा देखिएको राजश्व छलीलाई रोक्न सर्कुलर महत्त्वपूर्ण हुने उल्लेख गरे ।
मन्त्री इङ्नामले कर्मचारीतन्त्रको इमानदारीतालाई राज्यको प्रगति र उन्नतिको आधार भएको बताउँदै, ‘यो राज्यमा बस्न लायक, भरोसा गर्न लायक कर्मचारी प्रशासन हुनुपर्छ । सेवाग्राहीप्रति व्यवहारमा आमुल सुधार आवश्यक छ, कोही पनि नागरिकलाई निराश पार्न हुँदैन। काम समयमै र इमानदारीपूर्वक सम्पन्न गर्नु कर्मचारीको दायित्व हो, ‘उनले भने ।
उनका अनुसार सुशासन र पारदर्शिता कायम हुँदा मात्र आम नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् र विदेशी पलायनमा कमी आउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया