अर्बौँ खर्च भइसकेकाले अब चुनाव हुनु नै राम्रो छ : अध्यक्ष ओली 

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले अर्बौँ रुपैयाँ राज्यको खर्च भइसकेकाले अब तोकिएको समयमै निर्वाचन हुनुपर्ने बताएका छन् । 

ओलीले चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयास भइरहेको दाबी गर्दै एमाले भने कुनै अल्मल नगरी चुनाव जित्ने तयारीमा केन्द्रित भइसकेको स्पष्ट पारे ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्य, राजनीतिक दल र उम्मेदवारहरूले ठुलो धनराशि खर्च गरिसकेको उल्लेख गरे । उनले पछिल्ला छ महिनासम्म आफूहरूले निरन्तर प्रयास गर्दा कसैले चासो नदिएको तर अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको बताए ।

‘अर्बौँ रुपैयाँ खर्च भइसक्यो, उम्मेदवारको खर्च भइसक्यो, डेढ लाखको संख्यामा म्यादी प्रहरी भर्ना गरेर तालिम दिइसकिएको छ, कार्यक्षेत्रमा खटाइसकिएको छ,‘ ओलीले भने, ‘यस्तो अवस्थामा निर्वाचन अब हुनु नै देशका लागि उपयुक्त हुन्छ ।’

निर्वाचन स्थगित हुने हल्ला चले पनि एमाले कुनै पनि परिस्थितिमा नअल्मलिई अगाडि बढ्ने र जित हासिल गरेरै छाड्ने दृढता उनले व्यक्त गरे । ‘हामी चुनावको विजयको तयारीमा लागेका छौँ। जेसुकै होस्, हामी जित्ने तयारीमै छौँ,‘उनले थपे ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बाल्दा दूध उम्लिएजस्तै एकाएक उचालिएको टिप्पणी गरे । उनले चुनाव जित्न नसक्ने देखेपछि अर्काको झण्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्ने, अपमान र बेइज्जती गर्ने गतिविधि सुरु गरेको आरोप लगाए ।

विपक्षीहरू अत्तालिएर चुनावी वातावरण बिगार्न खोजिरहेको दाबी गर्दै ओलीले जस्तोसुकै परिस्थिति आए पनि एमाले निर्वाचनको तयारीबाट पछि नहट्ने र विजय हासिल गरेरै छाड्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?