युक्रेनले गर्‍यो युद्धकै बीच सैन्य सामग्री निर्यातको निर्णय, अर्बौं डलर आम्दानी हुने अपेक्षा

लोकपथ
140
Shares

काठमाडौं । सन् २०२२ मा रुसी आक्रमण सुरु भएयता पहिलो पटक युक्रेनले आफ्नो सैन्य सामग्री विदेशमा निर्यात गर्ने अनुमति दिएको छ।

युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद् (एनएसडीसी) का उप-सचिव डेभिड अलोयानका अनुसार, एक सरकारी आयोगले ४० वटा निर्यात आवेदनहरू मध्ये अधिकांशलाई स्वीकृति दिएको छ। यसबाट यो वर्ष अरबौं डलर आम्दानी हुने अपेक्षा गरिएको छ ।

युक्रेनले तत्कालका लागि तयारी हतियारहरू भन्दा पनि स्पेयर पार्ट्स, कम्पोनेन्ट र सैन्य सेवाहरू निर्यात गर्नेछ । यसमा ‘फ्रान्केन(एसएएम’ कार्यक्रमसँग सम्बन्धित उपकरणहरू पनि सामेल छन्, जसले पुराना सोभियत लन्चर र पश्चिमी मिसाइलहरूलाई जोड्ने काम गर्छ ।

सरकारले रक्षा उत्पादकहरूमाथि नयाँ निर्यात कर लगाउनेबारे विचार गरिरहेको छ । यसबाट संकलित रकम युक्रेनी सेनाको आन्तरिक आवश्यकताहरू पूरा गर्न प्रयोग गरिनेछ ।

अमेरिका, बेलायत, जर्मनी र नर्डिक देशहरूका साथै मध्यपूर्वका तीनवटा राष्ट्रहरूले युक्रेनको ड्रोन र मिसाइल प्रविधिमा ठूलो चासो देखाएका छन् ।

युक्रेनलाई युद्धमा सबैभन्दा बढी सहयोग गर्ने देशहरूलाई निर्यातमा प्राथमिकता दिइनेछ । सरकारले तयारी सामान बेच्नुभन्दा विदेशी लगानी भित्र्याउन ‘संयुक्त उपक्रम’लाई बढी जोड दिएको छ ।

युक्रेनको घरेलु सैन्य उत्पादन क्षमता अहिले ५५ अर्ब डलर भन्दा बढी भए पनि बजेट अभावका कारण करिब ३०-३५ अर्ब डलर बराबरको क्षमता प्रयोगविहीन छ।

यो नयाँ नीतिले उक्त क्षमतालाई उपयोग गर्दै अर्थतन्त्र बलियो बनाउने र सैन्य प्रविधिलाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?