पोर्चुगल । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक लिस्बनमा सम्पन्न भएको छ ।
लिस्बनस्थित पोर्चुगलको परराष्ट्र मन्त्रालयमा शुक्रबार सम्पन्न बैठकमा द्विपक्षीय व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधि क्षेत्रमा सहकार्य र सहयोग अभिवृद्धि गर्ने सहमति भएको छ ।
बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक तथा कन्सुलर मामिलासहित समग्र पक्षको समीक्षा गरिएको थियो । साथै, जलवायु परिवर्तन तथा साझा चासोका क्षेत्रीय र बहुपक्षीय मुद्दामा समेत विचार–विमर्श भएको जनाइएको छ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अमृतबहादुर राईले गरेका थिए भने पोर्चुगलको तर्फबाट डा.आना इसाबेल जेभियरले नेतृत्व गरेकी थिइन् ।
नेपाली प्रतिनिधिमण्डलमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, परराष्ट्रका सहसचिव एवं युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उपसचिव उत्तम घिमिरेलगायत वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकमा नेपाल–पोर्चुगलबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुका साथै साझा चासो, आपसी हित, थप सहकार्य र सहयोग विस्तारबारे गहन छलफल भएको राजदूत पौडेलले जानकारी दिए ।
उनका अनुसार पोर्चुगलमा बसोबास गर्ने नेपालीले भोगिरहेका कागजात प्रमाणीकरणसम्बन्धी समस्याको समाधानका लागि पोर्चुगिज पक्षसँग विशेष आग्रह गरिएको छ। साथै, नेपालमा पोर्चुगलको दूतावास स्थापना गर्न पनि आग्रह गरिएको उनले बताए ।
त्यस अवसरमा परराष्ट्र सचिव राईले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायप्रति देखाइएको सद्भावका लागि पोर्चुगल सरकारलाई धन्यवाद व्यक्त गरे।
परराष्ट्र तथा सहकार्य मामिला सचिव डा. जेभियरले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गरिन् । बैठकपश्चात् डा। जेभियरले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेकी थिइन् ।
यसैक्रममा परराष्ट्र सचिव राईले पोर्चुगिज व्यापार तथा लगानी एजेन्सीका अधिकारीहरूसँग नवीकरणीय ऊर्जा क्षेत्रसम्बन्धी अन्तर्क्रिया गरेका थिए । उनले जलविद्युत् उत्पादन, प्रसारण र वितरणलगायत ऊर्जा क्षेत्रमा पोर्चुगिज लगानीकर्तालाई नेपालमा लगानी गर्न नेपालको लगानी बोर्डसँग छलफल गर्न सुझाव दिए ।
त्यसअघि परराष्ट्र सचिव राईले पोर्चुगलको परराष्ट्र मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया डी सौसा रिबेरो टेलेससँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।
भ्रमण सम्पन्न गरी परराष्ट्र सचिव राई नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र सन् २०१८ मा स्थापना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया