कैलालीमा मोटरसाइकल दुर्घटना : तीन जनाको मृत्यु, एक जना घाइते

लोकपथ
0
Shares

सुदूरपश्चिम । कैलालीको अत्तरिया–वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत भएको उक्त दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा तीन जनाको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रहरीका अनुसार सुप प्र ०१–०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओलीको मृत्यु भएको हो । सोही मोटरसाइकलमा पछाडि सवार गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन् र उनको उपचार भइरहेको छ ।

यस्तै सुप प्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि सवार अन्दाजी २३ वर्षीय हरिश पार्कीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार दुर्घटना अत्यधिक गतिका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । ‘घटनास्थलको अवस्थाले मोटरसाइकल प्रतिघण्टा १०० किलोमिटरभन्दा बढी गतिमा चलाइएको देखिन्छ, पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन्,’ उनले बताए ।

प्रहरीका अनुसार मृतक ओली गोदावरी क्षेत्रमा आयोजित विवाह कार्यक्रममा सहभागी भएर धनगढीतर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?