मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल

लोकपथ
0
Shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल राखिने भएको छ । 

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार भिमफेदी कारागार र जिल्ला प्रशासन कार्यालयका एक-एक अस्थायी मतदानस्थल राखिने भएको हो । 

भिमफेदी कारागारमा ७२ पुरुष र तीन महिला गरी ७५ जना कैदीबन्दी मतदाता र जिल्ला प्रशासन कार्यालयको अस्थायी मतदानस्थलमा तीन हजार २३२ मतदाता रहेको प्रमुख ढकालले बताए । अस्थायी मतदानस्थलमा मतदान गर्ने मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन् । 

कुल दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये १९ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । 

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लाका विभिन्न छ स्थानीय तहमा रहेका १९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । जिल्लाको ६० वटा मतदानस्थललाई संवेदनशील र ८८ वटालाई सामान्य सूचीमा राखिएको उनको भनाइ छ । 

अतिसंवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ वटा मतदान केन्द्र छन् । उनका अनुसार बकैयाँ गाउँपालिको पाँचवटा, राक्सिराङ गाउँपालिकाका छ वटा, बागमती गाउँपालिकाको पाँचवटा, भीमफेदी गाउँपालिकाको एक, मनहरी गाउँपालिकाको एक र कैलाश गाउँपालिकाको एक गरी १९ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् । 

मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य पाँच गरी तीन लाख १५ हजार ३३४ जना मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?