भोजपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १३ दिन बाँकी रहँदा भोजपुरमा उम्मेदवारहरू आ-आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।
उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरू गाउँगाउँ, टोलटोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रममार्फत मतदातासँग नजिकिन थालेका छन् ।
उम्मेदवारहरू विकास, सुशासन, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
यसपटकको निर्वाचनमा भोजपुरबाट १२ वटा राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै उम्मेदवारले आफ्नो दलको नीति, कार्यक्रम र जिल्लाको विकासमा पुर्याउने योगदानबारे मतदातालाई जानकारी गराउँदै चुनावमा मतदान गर्न आग्रह गरिरहेका छन् ।
विगतमा थालिएका योजनाको पूर्णतासँगै जिल्लाको विकास एवं लोकतन्त्र र संविधानको रक्षा तथा सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार शेरधन राईले बताए ।
त्यस्तै, भोजपुरको विकाससँगै देशमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्दै सुशासन प्रवर्द्धनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अजम्बर राई काङमाङले व्यक्त गरेका छन् । उनले जनताको भरोसा र सहभागिताबाट मात्र राजनीतिक प्रणालीमा सुधार सम्भव हुने धारणा राखे
जनताको आवाजलाई संसद्सम्म पुर्याएर जिल्लाको दीर्घकालीन विकासका लागि पहल गर्ने उद्देश्यले आफू उम्मेदवार बनेको श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले बताए । उम्मेदवारहरूले वैकल्पिक राजनीतिक सोच, श्रमको सम्मान, पारदर्शी शासन प्रणाली, जवाफदेहिता र प्रणालीगत सुधारलाई प्राथमिकतामा राख्दै प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा निर्वाचन नजिकिँदै जाँदा स्थानीय तहदेखि संघीय तहसम्मका राजनीतिक नेतृत्वको भूमिका, विगतमा भएका विकासका काम, अधुरा योजना र आगामी दिनमा जिल्लालाई कसरी अघि बढाउने भन्ने विषयमा मतदाताबिच बहस सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया