सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न

लोकपथ
77
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ । 

शुक्रवार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । बाँकी रहेका ४ वटा प्रदेशहरूमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् । 

निर्वाचन आयोगले सबै जिल्लाहरूमा निर्वाचन सामग्रीसहित मतपत्र ढुवानीको कामलाई तीव्रता दिएको हो । तोकिएको समय तालिकाभित्र सबै कामहरू सम्पन्न गर्ने गरी मतपत्र ढुवानीको काम पनि भइरहेको आयोगले जनाएको छ । 

आयोगकी सहायक प्रवक्ता श्रीसले भनिन्, ‘हामीले पहिलो हुने निर्वाचन तर्फका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार मत पत्र छपाई र प्याकिङको काम गर्‍यौ । त्यस्तै गरेर समानुपातिक मतपत्र छपाईको काम गर्‍यौ । जसमा २ करोड ८ लाख ३० हजार मतपत्र छपाईको काम गर्‍यौँ । निर्वाचनका लागि मतपत्रहरू सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानीको काम सम्पन्न गरिसकेका छौ । अथवा सम्बन्धित ठाउँमा पुर्‍याइसकेका छौ । अब बाँकी रहेका ४ वटा प्रदेशमा पठाउने काम भइरहेको र भोली, पर्सी गरेर निर्वाचन आयोगले तयार गरेको कार्यपालिका भित्र नै निर्वाचन सामग्री र मतपत्र ढुवानीको काम पुर्‍याई सक्ने गरी हामीले काम गरिरहेका छौँ ।’

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मत पत्र छपाई गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?