शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित नहुने बताएकी छन् । 

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले समकालीन समाजको आवश्यकता अनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन र नैतिक जनशक्ति उत्पादनमा विश्वविद्यालय केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘विश्वविद्यालयको अध्ययन पूरा गरेपछि युवा विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय हो। त्यसैले नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु वर्तमान समयको अनिवार्य आवश्यकता हो ।’ 

उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्रसँग प्रत्यक्ष जोड्न आवश्यक भएको र ज्ञानलाई समाज र राष्ट्रका समस्या समाधानसँग सम्बन्धित बनाउनुपर्ने बताइन् ।

उनले गुणस्तरीय शिक्षा र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिँदै दीक्षार्थीले प्राप्त प्रमाणपत्र केवल रोजगारीको आधार नभई समाज र राष्ट्रका दीर्घकालीन समस्याको समाधान खोज्न सक्ने क्षमता द्योतक हुनुपर्ने धारणा व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले युवालाई राजनेता, प्रशासक, नीति–निर्माता र समाज रूपान्तरणका अभियन्ता भएको भन्दै जिम्मेवारी, निष्ठा र सकारात्मक सोचसहित अघि बढ्न आग्रह गरिन् । साथै उनले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि आउँदो निर्वाचनमा सक्रिय र जिम्मेवार सहभागिताको आह्वान गरिन् ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ मा जेनजी युवाले उठाएका आवाजहरू धेरै गहन र आधारभूत सवालसँग जोडिएको भन्दै त्यसबारे आत्ममूल्याङ्कन आवश्यक रहेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?