काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले दाङको तुलसीपुरमा नेकपा एमालेको झन्डा जलाएको घटनालाई लिएर दुई दल आमनेसामने हुने सम्भावना बढेको छ ।
एमाले महासचिव शंकर पोखरेलको गृहनगरसमेत रहेको दाङमा रास्वपा कार्यकर्ताले एमालेको झन्डा जलाएको घटनालाई लिएर एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले आपत्ति जनाउँदै संलग्नमाथि प्रशासनसँग कारबाहीको माग गरेको छ भने कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।

भोलेन्टियर्स फोर्सका प्रमुख कमान्डर पुष्पराज श्रेष्ठले शुक्रबार वक्तव्य जारी रास्वपाका शीर्ष नेताबाट एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको र पार्टीको झन्डासमेत जलाइएको भन्दै प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् । श्रेष्ठले शुक्रबार वक्तव्य जारी गर्दै झन्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यलाई अराजक मानसिकताको प्रतीक भनेका छन् ।
यस्तै, नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झन्डा जलाएर लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा आघात पु¥याएको बताएको छ ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीले शुक्रबार विज्ञप्ति जारी गर्दै राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गर्दै अरूको आस्थामा आक्रमण गर्नु लोकतान्त्रिक संस्कार विपरीत भएको बताएका छन् । घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न अखिलको माग छ ।
‘सरकार मौन बस्ने वा अराजकतालाई प्रश्रय दिने कार्य गरेमा अनेरास्ववियु सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिन चाहन्छ’, धामीले भनेका छन् ।
यस्तै, एमाले महासचिव शंकर पोखरेलले पनि अराजकता र उद्दण्डता कुनै नयाँपन नभएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले झन्डा जलाएर आस्थामा चोट पु¥याउनेलाई जनताले चिन्नुपर्ने उल्लेख गरेका छन् ।
पोखरेलको भनाइ छ, ‘अराजकता र उद्दण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन् । झन्डा जलाएर अरूको आस्थामा चोट पु¥याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।’
दाङ निवासी एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले पनि सामाजिक सञ्जालबाट रास्वपाका कार्यकर्ताको यस कार्यको विरोध गरेकी छन् । ‘यो भन्दा अराजकता के हुनसक्छ ? चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झन्डा जलाउन पाइँदैन, यो अराजकताको पराकाष्ठा हो, समयमै चेत खुलोस्,’ उनले लेखेकी छन् ।
बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झन्डा जलाइदिएका थिए । त्यसको भिडिओसमेत बाहिरिएको छ । उनीहरूले ‘केपी …, देश छोड’ भन्दै नाराबाजी गर्दै झन्डा जलाएको भिडिओमा देखिन्छ ।

रास्वपाले भने घुसपैठ भएको जिकिर गरेको छ । रास्वपा दाङका सभापति विनय घिमिरेले हिजो राति नै विज्ञप्ति निकाल्दै शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिले अत्तालिएकाहरूले घुसपैठ गरी भ्रमपूर्ण वातावरण सिर्जना गरेको जिकिर गरेका छन् । झन्डा जलाउने कार्यमा पार्टीको संलग्नता नरहेको प्रष्टीकरणसहित विज्ञप्तिमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया