काठमाडौं । एउटा मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला डोल्पा अहिले हिउँले सेताम्मे छ । कठ्याङ्ग्रिने जाडो, सुनसान बस्ती र शान्त हिमाली वातावरण डोल्पाको अहिलेको परिचय हो । तर फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनले यो हिमाली जिल्ला अहिले असामान्य रूपमा तातेको छ । तात्नुको मुख्य कारण समयअगावै हुन गइरहेको निर्वाचन मात्रै होइन, उम्मेदवारहरू पनि हुन् ।
हो, २०८४ मा हुनुपर्ने निर्वाचन जेनजी विद्रोहका कारण २०८२ मै हुन गइरहेको छ । विगतमा मंसिर, चैत र बैशाखमा भएका निर्वाचन यो पटक हिउँदमै हुन गइरहेको छ । वास्तवमा यसपटकको प्रतिनिधिसभा निर्वाचनले डोल्पालाई नयाँ किसिमको रोमाञ्च मात्रै दिएको छैन, निर्वाचनमा विरलै देखिने यस्तो दृश्य डोल्पामा देखिएको छ । जसको कारण हो, सहोदर दाजुभाइबिचको चुनावी प्रतिस्पर्धा ।
हो, यो निर्वाचनमा सहोदर दाजुभाइ आमनेसामने भएका छन्, त्यो पनि मुख्य दलबाटै । काइके गाउँपालिका–२ का स्वर्गीय लंकु बुढाका जेठा छोरा कर्णबहादुर बुढा र काइँला छोरा धनबहादुर बुढा निर्वाचनमा होमिएका हुन् । कर्णबहादुर नेपाली कांग्रेसबाट चुनावी मैदानमा होमिँदा उनका काइँला भाइ धनबहादुर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार छन् । मुख्यतः अहिले यी सहोदर दाजुभाइबीच नै चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । त्यसैले पनि होला– घरको आँगन साझा, बाल्यकालका सम्झना साझा तर चुनावी एजेन्डा र राजनीतिक झन्डा फरक–फरक भएकाले यतिबेला डोल्पाको चुनावी माहौल थप रोचक बन्न पुगेको छ ।
दाइ कर्णबहादुरले अहिलेसम्म ‘माननीय’ बन्ने अवसर पाएका छैनन् । तर भाइ धनबहादुरले भने तीन–तीन पटक त्यो अवसर पाइसकेका छन् ।
धनबहादुर यस्ता भाग्यमानी पात्र हुन्, जो २०७० यताका तीन संसदीय निर्वाचनमा लगातार विजयी हुँदै आए । राप्रपा छाडेर एमालेमा प्रवेश गरेपछि उनको भाग्य चम्कियो । एमालेले २०७० को चुनावअघि राप्रपामा रहेका धनबहादुरलाई पार्टी प्रवेश गराएर टिकट दिएको थियो । २०७० को चुनावमा उनले माओवादीकी सत्या पहाडीलाई झन्डै ४ हजार मतान्तरले पराजित गरे । २०७४ मा धनबहादुर पुनः बाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार बने र कांग्रेसका अंगतबहादुर बुढालाई पराजित गरे । केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा उनी पर्यटन राज्यमन्त्री बनेका थिए । २०७९ मा उनी एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा लागे । २०७९ मा एकीकृत समाजवादीबाट चुनाव लडेका उनले माओवादी र कांग्रेसको साथ पाएर एमालेका गणेशबहादुर शाहीलाई ६ हजार मतान्तरले पराजित गरे । एकीकृत समाजवादी रोजेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी सहरी विकासमन्त्री भए ।
जुन पार्टीबाट लडेपनि लगातार जित निकाल्दा धनबहादुरलाई अहिले डोल्पाको राजनीतिक खेलाडी भनेर चिनिन्छ । उनी यसपटक नेकपाको तर्फबाट चुनाव चिन्ह तारा लिएर मैदानमा होमिएका छन् ।
दाजु कर्णबहादुरको कथा भने अलि फरक छ । कांग्रेसको विशेष महाधिवेशनबाट सह–महामन्त्री चुनिएका कर्णबहादुर डोल्पाका पुराना राजनीतिज्ञमा गनिन्छन् । कर्णबहादुरको राजनीतिक जीवनको सुरुवात राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भएको हो । राजनीतिमा धनबहादुरलाई पहिलो प्रेरणा दिने व्यक्ति पनि कर्णबहादुर नै हुन् । २०५१, २०५६ र २०६४ का निर्वाचनमा उनी मुख्य प्रतिद्वन्द्वीमै सीमित बनेका थिए । २०५१ मा कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार मोतीप्रसाद पहाडीले उनलाई पराजित गरे । २०५६ मा राप्रपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिए । उक्त निर्वाचनमा एमालेका नरबहादुर बुढाथोकीसँग उनी पराजित भए । २०६४ मा फेरि राप्रपाबाट लडेका उनी नेकपा (माओवादी) का रामबहादुर बोहोरासँग पराजित हुन पुगे । २०७६ सालदेखि उनले राप्रपा छाडेर कांग्रेस राजनीति रोजे ।
यहाँ २०४८ सालमा कांग्रेसबाट क्याबु बुढाले चुनाव जितेपनि त्यसयता कांग्रेसले जित निकाल्न सकेको छैन । कर्णबहादुरले कांग्रेसको केन्द्रीय सदस्य, सहमहामन्त्री हुँदै पार्टी राजनीतिमा सफलता प्राप्त गरेपनि आम चुनावको परिणामले उनको राजनीतिक भविष्यको निर्क्यौल गर्नेछ ।
डोल्पाको राजनीतिमा बुढा परिवारको प्रभाव पुरानै हो । २०४८ सालमा कांग्रेसबाट क्याबु बुढा निर्वाचित भएका थिए । २०७४ मा नन्दसिंह बुढा प्रदेशसभामा निर्वाचित भई पर्यटनमन्त्री बने । कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री शेरबहादुर बुढा पनि यही परिवारभित्रका हुन् । व्यापार–व्यवसायमा स्थापित र आर्थिक रूपमा सम्पन्न बुढा परिवारको वरिपरि जिल्लाको राजनीति घुमिरहेको चर्चा चलिरहन्छ ।
तीन पटक पराजित दाजु र तीन पटक विजयी भाइ अब कसले हार वा जितको ‘ह्याट्रिक’ कायम राख्छन् ? यसको उत्तर फागुन २१ को मत परिणामले दिनेछ । अघिल्ला निर्वाचनमा दाइ प्रतिस्पर्धी नहुँदा सहज जित निकालेका धनबहादुरका लागि यो निर्वाचनमा कस्तो परिणाम आउँछ चासोको विषय बनेको छ ।
धनबहादुरले २०७९ कै निर्वाचनमा आफूलाई सहयोग गर्ने आश्वासन दिएपनि धोका दिएको र यसपटक पनि नेकपाबाट आफै उम्मेदवार बन्दा कर्णबहादुर चुनावी अभियानमा आक्रोशित सुनिन्छन् । तर भाइ धनबहादुर भने संयमित भएर दाइविरुद्ध अभियान चलाइरहेका छन् । कर्णबहादुरले जनताले आफूलाई इमानदार र स्वच्छ छविको रूपमा चिनेकाले साथ दिने बताउँछन् । ‘उसले जिल्लामा राम्रो गरेको भए म चुनावमा आउन पर्थेन, यो पटक म चुनाव जित्छु, भाइको वर्चस्व तोड्छ,’ कर्णबहादुरले भने, ‘उसले ठाउँ ओगट्ने काममात्रै ग¥यो, डोल्पाको विकासमा ध्यान दिएन, मप्रति जनताको ठूलो आस्था र विश्वास पाएको छु, कसैले पनि नराम्रो भनेका छैनन् ।’ उनी आफ्नो प्रतिस्पर्धा भाइसँगै हुने बताउँछन् ।
धनबहादुर भने आफ्नो प्रतिस्पर्धा दाजुसँग नभई एमालेसँग हुने दाबी गर्छन् । धनबहादुर माओवादी र एकीकृत समाजवादी धारको राम्रो पकड भएकाले जित निकाल्ने दाबी गर्छन् । उनी जनताबाट पाएको सकारात्मक प्रतिक्रियाले आफू उत्साही बनेको बताउँछन् ।
यो जिल्लामा एमालेले जिल्ला अध्यक्ष ३५ वर्षीय लंक रोकायालाई उम्मेदवार बनाएको छ । मुड्केचुला गाउँपालिकाकाका उनी अघिल्ला दुई स्थानीय तहका निर्वाचनमा गाउँपालिका अध्यक्ष उम्मेदवार थिए । २०७४ मा ५ मत र २०७९ मा ३७ मतान्तरले पराजित हुन पुगेका उनी यसपटक सांगठनिक भोट जोगाएर जित निकाल्ने दाउमा छन् । माथिल्लो डोल्पाभन्दा तल्लो डोल्पामा बढी मत भएकाले आफूलाई जित्न सहज हुने रोकायाको दाबी छ । उनका अनुसार माथिल्लो डोल्पामा ६ हजार र तल्लो डोल्पामा १८ हजार मतदाता छन् । १५ वर्षपछि तल्लो डोल्पाले प्रतिनिधिसभामा टिकट पाएकाले भेगीय सहानुभूति रहेको उनको भनाइ छ ।
२०७९ को प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ एमालेले ६ हजार २ सय ९४, माओवादीले ४ हजार ७ सय २१, कांग्रेसले ३ हजार ५ सय ९१, एकीकृत समाजवादीले १ हजार ८ सय २१ मत पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया